२६ माघ, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो ।
तर दोस्रो चरणको खोप शुरु हुन लाग्दा पनि जोखिम मोलेर शिक्षण कार्य सम्पादन गरिरहेका शिक्षकहरु समेटिएका छैनन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
सहप्रवक्ता अधिकारीले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जानकारी पनि दिए ।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।
पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।