राम प्रसाद बेलबासे पाणिनि ७ – झन्द्रेक अर्घाखाँची,
हाल मध्यप्रदेश भोपाल
हाम्रो गाऊँ, अर्घाखॉची जिल्लाको पाणिनी गाऊँपालिकामा पर्दछ। भौगोलिक दृष्टिले पहाड़ी क्षेत्र तथा साधन स्रोतको अप्रर्याप्तताको कारण जीवननिर्वाहकोे लागि एक अर्कामा आश्रित रहनु पर्दथ्यो। साना साना कार्यमा छिमेकीको सहायता लिनु पर्दथ्यो। यदि घरको आगो निभ्यो भने पनि छिमेकीको घरमा आगो माग्न जानु पर्दथ्यो। पाहुनाहरू घरमा आएको समयमा छिमेकीको घरबाट चावल, नून, तेल पैचो ल्याई पाहुनाको लागि भोजन तैयार गरीन्थ्यो। सुख, दुखमा साथ दिने छिमेकी भएको हुनाले सबैजना आफ्नो छिमेकी संग राम्रो व्यवहार, आपसी मेलमिलाप तथा सुमधुर सम्बन्ध स्थापित गर्ने गर्दथे। छोराछोरीको विवाहको समयमा छिमेकबाट गाग्री ताउला ल्याई आफ्नो घरमा राख्ने, नजीक को खेतबारी पनि उनैको सम्पत्ति भयेको बताउने जस्ता कुटनीतिक कार्य गरी छिमेकीको इज्जतलाई बढाई दिने कार्य हुन्थे। कुनै समयमा छिमेकी बीच मनमुटाव को स्थिति उत्पन्न भएमा सहमतिको आधारमा छिमेकमा नै समस्याको निराकरण हुन्थे। यदि कुनै व्यक्ति द्वारा छिमेकीको भावनामा धक्का लाग्ने किसिमको कार्य गरेमा उक्त व्यक्तिलाई सामाजिक वहिष्कार र सामाजिक तिरस्कार गरी दिने परम्परा थियो। तत्कालीन समयमा यो निकै ठूलो सजाय थियो।
यहॉ छिमेकीको गणना केवल आफ्नो घरबारी संग सीमाना जोडिएको व्यक्ति मात्र नभई ती सम्पूर्ण सहयोगी मनहरूलाई छिमेकीको रूपमा मानिन्छ, जो आवस्यकता परेको समयमा सहयोग को लागि तत्पर रहने गर्दथे। हाम्रो छिमेकमा पनि सबैजना निकै सहयोगी भावनाका व्यक्तिहरू हुनुहुन्थ्यो। बीरामी तथा दुःख कष्टको समयमा या सामाजिक कार्यको आयोजनहरू विवाह, उपनयन संस्कार, जन्म ,मृत्यु तथा खेतीपाती लगाउने, भित्राउने समयमा सबै जना एकजूट भई कार्य गर्ने परम्परा थियो। हाम्रा छिमेकीहरूले दशैको टीका लगाउदा दिने आषीर्वाद, तीहारको देउसी र भैलो खेल्नेहरुले दिने आशिष वचनहरूमा विश्व शान्ति तथा सम्पूर्ण प्राणि जगतको कल्याणका भाव झल्कन्थे।
असल छिमेकी मिल्नु एक सौभाग्यको कुरा थियो। आफ्नो परिचय छिमेकीको नाममा हुने गर्दथ्यौ म वहॉहरूको छिमेकी हुँ , वहॉहरूको घरको कोखामा मेरो घर छ भन्नुमा पनि गौरव महसूस हुने गर्दथ्यो। म स्वयं भन्ने भावना कम थियो, हाम्रो गाऊ र हाम्रा छिमेकी भन्ने भावना अधिक थियो। हाम्रा छिमेकीहरू सदैव राम्रो कार्यको लागि उत्साहित गर्ने, सद्बुद्धि दिने, गलत तथा कुमार्गमा चलेको भए हतोत्ससाहित गर्ने, मेलमिलापको भावना बनाएर राख्ने स्वभाव भएका व्यक्तिहरू हुनुहुन्थ्यो। वहॉहरूको बीचमा बिताएका ती दिनहरू, अत्यन्तै सुखद अवसर थिए, सुखद घड़ी थिए। वहॉहरूले दिएका मार्गदर्षन तथा उपदेशले आत्मसम्मान तथा उन्नत जीवन को परिकल्पना गर्ने मार्ग देखायो। आज हामीहरू एक अर्का देखि टाठा रहेता पनि वहॉहरूको शान्तिपूर्ण व्यवहार, उदारभाव, कृपापात्रको स्मरण भइरहन्छ।
वर्तमान परिप्रेक्ष्यमा पनि असल छिमेकी भई दिएमा एक अर्काका समस्याहरू निराकरणमा सजिलो हुने, आपसमा विष्वास र एकजूटताको प्रदर्शन हुने हुनाले हाम्रा पूर्वजले थालनी गरेको यस परम्परालाई अझै बलियो बनाई साधन र स्रोत भन्दा ठूलो मानवता रहेको तथ्यलाई प्रमाणित गराउने कार्यलाई हाम्रा युवा पीढिले पनि स्वीकार गर्न सकेमा वहॉहरूको सपना साकार हुने थियो।
’’’