अर्घाखाँची ।
सँगैका साथी विदेशतिर उड्दै गर्दा कृष्णप्रसाद भुसालले गोलभेंडा फलाउने टनेल हाले । अरबमा कमाउने पैसा गाउँमै बसेर कमाउन सकिन्छ भन्ने आत्मविश्वास थियो उनमा । त्यही विश्वास र मेहनतले गर्दा अर्घाखाँची, अड्गुरीका ३४ युवा विदेशमा पसिना बगाउने युवाका लागि प्रेरणा स्रोत बनेका छन् ।
गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सोच राख्ने भुसाल अहिले अर्घाखाँची जिल्लाका उत्कृष्ट कृषक १६ कृषकमा पर्छन् । ‘मेहनत गर्यो भने गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ भुसालले भने, ‘अहिले त सबैले विदेशको पैसा यही कमायो भन्न थालेका छन् ।’ सबै उनले बनाएको गोलभेंडाका टनेल हेर्न जान्छन् ।
उनले अहिले ३ रोपनी जग्गामा गोलभेंडा खेती गरिरहेका छन् । खेती विस्तार गर्दै जाने उनको योजना छ । त्यसबाहेक काउली, बन्दा र यिनका बेर्नाको व्यवसाय गरिरहेका छन् । जेठमा लगाएको गोलभेंडा सकिने बेला भएको छ । अफसिजनमा लगाएका बेर्नाबाट गोलभेंडा फलाएर असार २२ गतेदेखि बेच्न थालेका थिए । ‘रेकर्ड राखेको थिएँ, असार २२ देखि बेच्न थालेको असोज १ गते हुँदा ४२ क्विन्टल बेचेछु,’ भुसाल भन्छन्, ‘त्यसपछि अहिलेसम्म फाट्टफुट्ट गरी थप १० क्विन्टलभन्दा धेरै बेचिसकें ।’ सुरुमा किलोको ८० रुपैयाँका दरले र पछिल्लो समय ५० रुपैयाँका दरले बेचेको उनले सुनाए । उनले प्रत्यके बिरुवाबाट १० किलो फलाउने लक्ष्य राखेको र त्यसै अनुसार प्रतिफल पाएको उनको भनाइ छ ।
‘चार महिनामा गोलभेंडाबाट मात्र साढे २ लाख आम्दानी भएको छ,’ भुसालले भने, ‘एक्लै छु, धेरै मेहनत गर्न सकेको छैन ।’ यसबाहेक उनले काउली र बन्दा लगाएका छन् । अफसिजनको बेला काउली सय र बन्दा ५० रुपैयाँ किलो बेचेको उनले बताए । उनको अर्को कला भनेको गोभी र प्याजका बेर्ना व्यवसाय हो । बेर्ना उमार्नु गाह्रो काम पनि हो । घामपानी, सिँचाइ र माटो मिलाउन जान्नु पर्छ । वार्षिक रुपमा हजारौं रुपैयाँ बेर्नामात्र बेचेर कमाउने गरेको उनले बताए । दुई महिनाको अवधिमा उनले ३५ हजार रुपैयाँको गोभीका बेर्ना बेचिसकेका छन् ।
‘यसमा लगानी भनेको मेहनतबाहेक ५ हजार रुपैयाँमात्र हो,’ भुसालले भने । अहिले प्याजको ब्याड राखेका छन् । पोहोर साल ४ किलो प्याजको बीउ राख्दा ६० हजार रुपैयाँका बेर्ना बेचेको उनले बताए । ‘एक किलो प्याजको बीउलाई झन्डै ३ हजार ५ सय रुपैयाँ पर्छ,’ भुसाल भन्छन्, ‘एक रुपैयाँमा २ वटा बेर्ना बिक्री हुन्छन् ।’
तस्वीर तथा जानकारी – कृष्ण भुसाल/अर्घाखाँची