राजेन्द्रकुमार आचार्य / बुटवल, २०८० वैशाख ६ बुधबार
माता अथवा आमाको मुख हेर्ने, आमालाई सम्झने र मान-मनितो गर्ने दिन भएकोले वैशाख कृष्णपक्षको औंसीलाई ‘मातातीर्थ औंसी’ भनिएको हो । अर्को शब्दमा यसलाई ‘मातृ अमावश्या’ र ठेट नेपालीमा ‘आमाको मुख हेर्ने दिन’ भनेर चिनिन्छ ।
यस पर्वमा आमा हुनेले साक्षात् आमालाई टीका लगाइदिने, ढोग गर्ने, मिठो-मसिनो ख्वाउने र राम्रो लुगा लगाइदिने गरी मान-मनितो गर्छन् ।
आमा नहुनेले काठमाडौँको थानकोटमाथि रहेको मातातीर्थ कुण्डमा गएर दिवङ्गत आमाको अनुहार जलमा चियाउने, उहाँको नाममा फूलपाती, अछेता, धूप, दीप, नैवेद्य ( रोटी, मनभोग, मिठाई, फल आदि) चढाउने गर्छन् । गाईलाई केरा वा अन्य प्रसाद, कन्यालाई दछिना, पुरोहित-पण्डितलाई सिधा र दीन-दुःखी भिखारीलाई भेटी, अन्न, फल र प्रसादी दान गर्दछन् ।
यस दिन तीर्थश्राद्धको रूपमा दिवङ्गत आमालाई तर्पण र पिण्ड दान पनि गर्ने परम्परा छ ।
विवाहित वा घर गएका छोरीले फल, रोटी, मिठाई आदि लिएर माइत आई आमाको मुख हेर्ने गर्छन् । आमाले छोरीलाई सुखशान्ति होस् र भाग्यको सप्रोस् भनी आशीर्वाद दिन्छन् । यसरी यो आमा र छोरीको पुनर्मिलन हुने सुखद दिन पनि हो ।
छोरीले मात्र हैन छोराले समेत आमाको मुख हेर्ने अथवा टीका लगाइदिने, रोटी, मिठाई, फल खुवाउने, राम्रो लुगा उपहार दिने र ढोगभेट गर्दछन् ।
मातातीर्थ कुण्डमा यो दिन निकै भिडभाड हुन्छ । किन मातृविहीन मान्छेहरू यहाँ ओइरिन्छन् भन्ने विषयमा मातातीर्थ औँसीसम्बन्धी एउटा लोककथा यस्तो प्रचलित छ :
अघि एउटा गोठालाले मातातीर्थ कुण्डको जलमा यसो हेर्दा आफ्नी दिवङ्गत आमाको अनुहार देखेछ । उसले आफूले खाजा-अर्नीको रूपमा लगेका रोटी भाँचेर चढाएछ । आमाले खाइछन् । उसले भोलि-पर्सिपल्ट पनि हेरेको थियो तर आमा देखिइनन् । अर्को वर्षको वैशाख कृष्णपक्षको औँसीमा भने देखिइन् रे । आमा गुमाएका अरू गोठालाहरूलाई पनि त्यस्तै भएछ ।
त्यसपछि प्रत्येक वर्षको वैशाख कृष्णपक्षको औँसीमा यो कुण्डमा गएर आमाको मुख हेर्ने प्रचलन बढ्दै गएर एउटा परम्परा बन्न पुगेछ ।
काठमाडौँ उपत्यकाबाहिर पनि मातृविहीनहरू विभिन्न नदी, तलाउ, दह, पोखरी आदि तीर्थस्थलहरूमा गएर मातृमुहार दर्शनको प्रयास गर्ने, प्रसाद चढाउने, मन्दिरमा पूजा गर्ने र दानदछिना दिने गर्दछन् ।
अलि पहिलेसम्म ग्रामीण किसानी तथा गोठाले पद्धतिको जिन्दगानीमा मातृ दिवस मनाउने चलन खासै थिएन । सहरिया जीवन शैलीले क्रमशः यसलाई अपनाउँदै गयो । काठमाडौँ उपत्यकामा आमजस्तै आमाको मुख हेर्ने दिन । पुगिसरी आएकाहरूले यसलाई बढी महत्त्व दिँदै गए । पछि पछि त गरिब-गुरुवाले पनि अपनाउन थाले र यसले व्यापकता पाउँदै गयो ।
अहिले हाम्रो समाज पश्चिमा विकृत शैलीमा फँस्दै गएको छ । विगतमा संयुक्त परिवार शैली टुक्रिँदै एकल बन्दै छ । हिजो एक्लो केटोसित ब्या गर्न केटीहरु रुजु हुन्थे, केटीका आमाबा छुट्टिन पर्दैन, अंशबाँडो लाउन पर्दैन भनेर दिन हुरुक्क हुन्थे । अब ठिक उल्टो हुन थालेको छ । एक्लो केटोसित ब्या गर्न परे पहिले बुढाबुढीसँग छुट्टै बस्ने कबोल गरेर मात्र रुजु हुने गरेको पाइन्छ ।
अझ अर्को विकृति फेसबुके हल्लाले ल्याएको छ । जसले आमाबाबुलाई पहाड या तराईका गाउँमा पुर्ख्यौली सम्पत्ति रुँग्न राखेर आफू सहरमा मोबाइल खेलाउने रोजगारी अपनाएर बसेका छन् तिनले बेसी आमा-सासुआमालाई फेसबुकमार्फत् सम्मानका पुष्पगुच्छा बर्साउँछन् र कविता रचेर छर्छन् । बरु तिनले नानी पाए भनेदेखि आमाबाबुलाई बोलाएर आवधिक धरालेको रोजगारी भने दिने गरेका छन् । यो प्रवृत्ति सबैले अपनाइ नसकेकाले आम नबनोस्, आमाप्रति आत्मीय बन्दै जाओस् । मातृऋण तिर्न उद्यत् हुने सन्ततिको सङ्ख्या बढ्दै जाओस् ।
यसरी यो एउटा चर्चित व्रतोत्सव स्वरूपको पर्व बनेको देखिन्छ ।
स्मरण रहोस् यो मातातीर्थ औँसीमा नेपालबाट देखिने कुनै ग्रहण छैन ।