२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

बुटवलमा प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठी

पुस १६,बुटवल ।
प्रविधिको विकाससँगै अपराधको शैली पनि परिवर्तन हुँदै गएकाले अनुसन्धानको पद्धतिलाई पनि सोही अनुसार परिमार्जित गर्दै लैजानुपर्नेमा सुरक्षा निकायका अधिकारीहरूले जोड दिएका छन् ।जसरी सामाजिक मामिलाहरू जटिल बन्दै गएका छन्, अपराधका प्रकृतिहरू पनि फरक र जटिल बन्दै गइरहेको भन्दै उनीहरूले अनुसन्धान अधिकृतहरू अपराधीभन्दा एक कदम अगाडि बढ्नुपर्ने बताए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी सुरक्षा अधिकारीहरूले प्रविधिको विकाससँगै अन्य अपराधका घटनासँगै साइबर अपराध, बैंकिङ कसूर जस्ता आर्थिक अपराधका घटनाहरू बढ्दै गएको भन्दै न्याय सम्पादनका लागि वैज्ञानिक अनुसन्धान हुनुपर्ने बताए।

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेयले न्यूनतम साधन स्रोत र जनशक्तिका बावजुद नेपाल प्रहरीले अधिकतम उपलब्धि हासिल गरेको उल्लेख गर्दै अझै अपराध अनुसन्धान र नियन्त्रणका लागि सकारात्मक सोँच राखेर अगाडि बढ्न आग्रह गरे। गृहमन्त्री पाण्डेयले जस्तोसुकै अभाव बीच कुनै दवाव र प्रभावमा नपरी काम नगर्न आग्रह गरे।

गृहमन्त्री पाण्डेयले पछिल्लो समय साइबर क्राइमका अपराधहरू बढिरहेको भन्दै त्यस्ता विषयका अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारले नीति तथा कार्यक्रममै सम्बोधन गरेर बजेट छुट्याएको बताए।

कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले प्रविधिको विकाससँगै प्रविधिजन्य अपराधको चुनौती बढिरहेको बताए।प्रहरी अतिरिक्त महानिरिक्षक तामाङले क्रिप्टोकरेन्सी, इन्टरनेट रिलेटेड अपराधको व्यापकता बढ्दै जाँदा त्यसको अनुसन्धान वैज्ञानिक हुनुपर्ने तर प्रहरीमा वैज्ञानिक साधन स्रोत र दक्ष जनशक्ति अभाव रहेको बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अपराध अनुसन्धानको शुरुवात पीडितको जाहेरीबाट हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अनुसन्धानको पाटोमा कुनै पनि कमजोरी हुन नहुने बताए। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले देशका अन्य प्रदेशमा जस्तै सामाजिक संजालबाट हुने साइबर अपराधका घटनाहरू लुम्बिनीमा पनि बढी देखिएको भएपनि मुद्दा चलाउनका लागि आवश्यक स्रोतसाधन र प्रविधि उपलब्ध नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार