३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका नेता चेतनारायण नियुक्त

शोभाखर पन्थी
अर्घाखाँची/साउन-७
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । लुम्बिनी प्रदेशको छैठौं मुख्यमन्त्री बन्नु भएका आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित नव नियुक्त मुख्यमन्त्री आचार्यले बुधवार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यतालिका छ ।
मुख्यमन्त्री सहित एमाले र कांग्रेका मन्त्रिहरुले पनि सपथ ग्रहण गर्ने योजना बनेको छ । एमालेबाट मुख्यमन्त्री सहित चार र कांग्रेसबाट पाँच जना गरी ९ जना मन्त्रिले सपथ ग्रहण गर्ने छन् । बाँकी तीन जना मन्त्रि पछी नियुक्त गर्ने तयारी छ ।

बुवा टिकाराम आचार्य र आमा तारादेवी आचार्यको माईलो सन्तानको रुपमा वि.सं. २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क-९ अँधेरीमा जन्मनुभएका आचार्यले कानुन बिषयमा स्नातक गर्नु भएको छ । २०३५ सालमा सिद्धार्थ माध्यममिक विद्यालय हंसपुर अध्ययन गर्दैगर्दा विद्यार्थी राजनीतिमा होमिएका आचार्य अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष हुनु भएको थियो । त्यसपछी जिल्ला सदस्य हुदै बुटवल बहुमुखी क्याम्पसमा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो । २०४६ सालमा ईलाका कमिटि सदस्य, २०४७ सालमा पार्टि जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य हुनु भयो । २०५४ सालमा पार्टी जिल्ला सचिव ( जिल्ला पार्टी प्रमुख) भएर ११ बर्ष काम गर्नु भयो । २०६५ सालमा अञ्चल कमिटि सदस्य हुदै पुन: २०६९ सालमा पार्टीको जिल्ला अध्यक्ष भएर ९ बर्ष काम गरेको उहाँमा अनुभव छ । २०७८ सालमा पार्टीको केन्द्रिय सदस्य बन्नु भएका आचार्य अहिले दाङ जिल्ला ईञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछी एमाले नेता लिला गिरी नेतृत्वमा बनेको सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भइसक्नु भएको छ । माओवादी नेता जोख बहादुर महराको नेतृत्वमा बनेको सरकारमा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको थियो ।
आचार्य लुम्बिनी प्रदेशमा स्वच्छछवी भएको सक्षम नेताको रुपमा स्थापित हुनुभएको छ ।
क्यान्सर ,मिर्गौला लगायतका घातक रोगलाई परास्त गर्न सफल भएका उहाँ विकास प्रेमी हक्की नेताको रुपमा परिचित हुनुहुन्छ । पार्टीलाई अप्ठ्यारो परेका बखत काँध थाप्ने र पारलगाउने आचार्य नेकपा एमालेमा भएको सहमति अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिलागिरी मुख्यमन्त्री बन्ने समयमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएकोले अहिले उपनेता मुख्यमन्त्री बन्नु भएको एमाले नेताहरुको भनाई छ ।

को हुन् मुख्यमन्त्री आचार्य:-

अराखाँची जिल्ला साविक अर्घा गा.वि.स. वडा नं. ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं. ९) मा पिता टिकाराम आचार्य र माता तारादेबी आचार्यको कोखबाट २०२४ जेठ २१ गते जन्मिनुभएका चेतनारायण आचार्य आफ्नो ११ वर्षको कलिलो उमेरबाट अनेरास्ववियुमा संगठित हुनुभयो । उहाँका पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकोले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध गर्नुभयो । २०४० सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्यमा निर्वाचित हुनुभएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनको क्रममा बुटवल जानुभयो र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको प्रा.क. अध्यक्ष र जिल्ला कमिटी सदस्य बन्नु भयो । अर्घाखाँची जिल्ला पार्टीले उहाँको आवश्यकता जिल्लामा महशुस गरि जिल्ला फर्काएपछि २०४६ सालमा इलाका कमिटी सदस्य, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यको रुपमा ७ वर्ष काम गर्नुभयो । २०५४ सालको पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट ३० वर्षको उमेरमा अर्घाखाँची जिल्ला पार्टीको सचिव (प्रमुख) मा निर्वाचित हुनुभयो । २०५४ पछि चौथो र पाचौं जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखको रुपमा काम गर्नुभयो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. १ वाट पराजित आचार्य २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । २०६९ सालमा भएको पार्टी जिल्लाको सातौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित आचार्यले नेकपाको अवधिमा समेत अध्यक्ष भई ९ वर्ष पुनः जिल्ला पार्टी प्रमुखको रुपमा कार्यभार संहाल्नुभयो । २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट भारी मतले निर्वाचित आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री र ग्रामिण तथा शहरी विकास तथा खानेपानी मन्त्रीको समेत कार्यभार संहाल्नुभयो । २०७८ सालमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँची जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा रहनुभयो । पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानमा दाङ जिल्लामा खटिनुभएका आचार्यलाई पार्टी केन्द्रले गरेको कार्यविभाजन अनुसार दाङ जिल्लाको इन्चार्जको रुपमा हालसम्म कार्यरत रहनुभएको छ । २०७९ सालको प्रदेश सभा निर्वाचनमा गठवन्धनका विरुद्ध प्रतिस्पर्धा गरि अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य नेकपा एमाले संसदीय दलको उपनेता बन्नुभयो । साथै लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी संहाल्नुभयो ।
कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालिन भई काम गरिरहनु भएको छ । विभिन्न आन्दोलनहरुमा जेल जीवन समेत ब्यतित गर्नुभएका आचार्यले क्यान्सर जस्तो भयानक रोगलाई समेत जितेर पार्टी काममा क्रियाशिल हुनुभयो । पार्टी संगठनको काममा निरन्तर क्रियाशिल कुशल संगठक आचार्य पार्टी कार्यकर्ता विच लोकप्रिय र प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ । उहाँका १ दाजु, २ भाइहरु, २ दिदीहरु र १ बहिनी रहनुभएको छ । आचार्यको जीवनसंगिनी दिपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यको रुपमा क्रियाशील हुनुहुन्छ भने साइला भाई खुबिराम आचार्य पार्टी जिल्ला कमिटी सदस्यको रुपमा पार्टी काममा क्रियाशील हुनुहुन्छ । उहाँको १ छोरा सुवास आचार्य र १ छोरी सुप्रभा आचार्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार