अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पोहोर साल पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भए को थियो सो पश्चात नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको पनि थियो। मुख्यगरी हरिया र निलो ढुसीका कारण सुन्तला नष्ट भएको वरिष्ठ वैज्ञानिक आचार्यको टोलीले स्थलगत अनुसन्धानपछि निष्कर्ष निकालेको थियो
भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, खुला हातले पञ्जा नलगाइ शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको र जसका कारण अघिल्लावबर्षहरुको ढुसीका जीवाणु नष्ट नभएको, सुन्तलालाई पटक-पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नु पर्नेमा सबै पाकेका सुन्तलाहरु टिपेको, हातका कारण बढी ढुसी लागेको निष्कर्ष निकालिएको थियो
नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटबलका बागबानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख घिमिरेको टोलीले स्थलगतरुपमा शीतभण्डारणमा पुगेर अनुसन्धान गरेको थियो ।
शीतभण्डारणमा राखेका ६३ मेट्रिक टन सुन्तला कुहिएपछि ९० रुपैयाँप्रति केजीमा सुन्तलको हिसाब गरेपनि कृषकहरुले झण्डै ५६ लाख ७० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो । कृषकहरु मान बहादुर श्रेष्ठ, चिरञ्जिवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीय स्तरमा उत्पादन भएको ४५ सय क्यारेट अर्थात ९० टन सुन्तला राखेका थिए ।
किसानहरूले आफूहरू मर्कामा परेको भन्दै स्थानीय, प्रदेश र सङ्घ तिनै तहका सरकार सामु कुरा राखे पनि आजसम्म सुनवाई नभएको गुनासो गरेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफू मुख्यमन्त्री नहुँदै कुहिएको सुन्तलाको आफूले पहल गरेको भएपनी जिम्मा लिन नसक्ने प्रतिक्रिया दिएको किसान रेवती पौडेलले बताउनुभएको छ । यस्तो प्रतिक्रियासँगै किसानहरू मुख्यमन्त्रीप्रति पनि किसानहरूले असन्तुष्टि पोखेका छन । किसान रेवती पौडेल भन्नुहुन्छ, “मुख्यमन्त्री किसानको बारीमा आएर सुन्तला खाँदा आनन्द लाग्ने तर किसानको आँखामा आँसु आउँदा जाति मानेजस्तो गर्ने यो कस्तो बिडम्बना हो ।” यसपाली सो चिस्यान केन्द्रमा लुम्बिनी प्रदेश कृषि निर्देशनालयले करिब २५० क्यारेट अर्थात् ५० क्विन्टल सुन्तला राखेर परीक्षण गर्ने जनाएको छ, भने अहिले सो चिच्यान केन्द्रमा किसानहरूले सुन्तला नराख्ने भएका छन्।