अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु आउने पालिका बनेको छ ।
पाणिनि गाउँपालिकाले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको लेखा परिक्षण गर्दा ०.६१ प्रतिशत बेरुजु रहेको थियो । ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.११ प्रतिशत अर्थात १५ लाख ३५ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।
यो तथ्यांकका आधारमा पाणिनी गाउँपालिका लुम्बिनीमै कम बेरुजु आउने पालिका बनेको छ । यसका आधारमा देशभरको अवस्थालाई हेर्दा पाणिनी गाउँपालिका सबै स्थानीय तह मध्ये कम बेरुजु आउने छैटौं नम्बरमा परेको छ ।
अर्घाखाँची जिल्लाको समग्र अवस्थालाई हेर्दा पनि आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/०८१ मा मा बेरुजु घटेको छ ।
यसरी जिल्लाका अन्य पालिकामा सन्धिखर्क नगरपालिकामा १ करोड ९२ लाख ७९ हजार रुपैयाँ अर्थात ०.९१ प्रतिशत, मालारानी गाउँपालिकामा १ करोड ७ लाख ९६ हजार रुपैयाँ अर्थात ०.७१ प्रतिशत, छत्रदेव गाउँपालिकामा ५१ लाख ४५ हजार रुपैयाँ अर्थात ०.३७ प्रतिशत, भूमिकास्थान नगरपालिकामा ३१ लाख ११ हजार रुपैयाँ अर्थात ०.१९ प्रतिशत, शितगंगा नगरपालिकामा १ करोड २ लाख ५७ हजार रुपैयाँ अर्थात ०.५३ प्रतिशत बेरुजु देखिएको हो ।
महालेखाले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार सो तथ्यांक सार्वजनिक भएको हो ।


