नेकपा एमालेका सांसद गोकर्ण बिष्टले पार्टी एकता जोगाउन नेताहरुले इगो र टसल अन्त्य गर्नुपर्ने बताएका छन्।
एमाले संसदीय दलको बैठकमा समय लिएर बोलेका बिष्टले पार्टीको अन्तरविरोध अन्त्य गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका हुन्।
‘पार्टी अध्यक्षको हैसियतले अत्यन्त गम्भीरताका साथ पार्टीको एकता मजबुत पार्ने जिम्मा प्रधानमन्त्रीज्यूमा छ’ बिष्टले भने, विगतमा पार्टी द्वन्द्वभित्र रहेका बेला के अन्तरविरोध रह्यो। कसले के गर्यो भन्ने कुरालाई थाती राखेर नयाँ ढंगले पार्टी एकता र आन्दोलनको लागि पहल गर्न जरुरी छ।’
एमाले संसदीय दलको बालुवाटारमा बसेको बैठकमा आजबाट माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी भएका थिए। बैठकमा झलनाथ खनाल, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईले समेत बोलेका थिए।
बिष्टले २०५४ सालमा सानो अन्तरविरोधले विभाजनको अवस्था आएको उल्लेख गर्दै अहिले पनि इगो र टसलबाट लडाइँ भइरहेको बताए। आजपनि हामी इगोको आधारमा टसलका आधारमा जुन प्रकारले लडाइँ लडेका छौँ। त्यसले हामीलाई समाप्त पार्ने बाहेक केही गर्दैन। कमजोर बनाउने बाहेक केही गर्दैन’ बिष्टले बैठकमा भने, एक बाल्टिन बरफ पानी खन्याएर पनि ठन्डा दिमागले अनौपचारिक संवाद मार्फत् पार्टीभित्र निकास खोज्न जरुरी रहेको छ।
उनले संवादबाट निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्री ओलीकै भएको बताए। माओवादी केन्द्र छाडेर प्रधानमन्त्री ओली निकट बनेका २३ केन्द्रीय सदस्य थप गरिएको विषयलाई समेत सकरात्मक टिप्पणी गरेका उनले त्यसबारे निर्णय गर्न अदालतले ब्युताँएको केन्द्रीय समितिको बैठक आवश्यक हुने उनको तर्क थियो।