हिन्दु नारिहरुको महान चाँड हरितालिका तीज आज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास सहित यो चाँड मनाउने गरिन्छ । ।
हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुने गर्दछ । ।
आज काठमाण्डौको पशुपति मन्दिरसहित देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएको थियो ।
दुई वर्षपछि जमघट भएको र मठ मन्दिर पनि खुलेकाले यसपालि चाडपर्वको रौनक छ । दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ ।
आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएको धार्मिक विश्वास रहेको छ । आज धेरैले निराहार व्रत बस्ने गरेका छन् । तर, स्वास्थ्यकर्मिहरुले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिएका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । तीजका अवसरमा आज महिलालाई सरकारले सार्वजनिक बिदा दिएको छ ।
यता लुम्विनी प्रदेश सरकारले भने सार्वजनिक विदा दिएको छ ।
तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिनुभएको छ ।