गुल्मी ।
करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।
दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।
उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए।
तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।
क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको कटौती अगाडि बढाउने सञ्चालक समितिको निष्कर्ष छ।
समितिका अनुसार क्याम्पसमा अहिले पूर्णकालीन २४ र आंशिक १० प्राध्यापक छन्। कर्मचारी १० जना छन्। कक्षा १२ देखि स्नातकोत्तरसम्म ७५८ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जनाएको छ।