बुटवल ।
बुटवल उपमहानगरपालिकाले चाडबाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ ।
चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्य सम्बन्धी समस्या हुनसक्ने भएकाले आजदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच,परामर्श,केही अत्यावश्यक औषधि,मास्कजस्ता सुविधा पाउने नगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।
बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरूलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने छ ।
हिन्दुहरूको चाडपर्व दसैँ तिहार र छठ सम्म बसपार्कमा डेस्क रहनेछ ।
चाडबाडमा यात्रुहरूको भिडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रूपमा औषधि छर्ने कामलाई पनि निरन्तर जारी रहने छ ।
बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने बताइएको छ ।

