२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

बुटवलमा जुटेर आधा दर्जन बढी स्वतन्त्र उम्मेदवारले गरे ‘लौरो चिन्ह’बाट चुनाव लड्ने घोषणा

बुटवल, भदौ ३१

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देही लगायतका जिल्लामा उम्मेदवारी घोषणा गरेको छ।

अभियानले आज (शुक्रबार) बुटवलको होटेल स्पानमा आयोजित एक कार्यक्रमबीच रूपन्देहीका चार निर्वाचन क्षेत्रसँगै प्युठान, कपिलवस्तु, कैलाली र कन्चनपुरका स्वतन्त्र उम्मेदवारहरूको नाम घोषणा गरेको हो।

घोषणाअनुसार प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नंं. १ मा विशाल बास्कोटा, क्षेत्र नं. २ मा डा. निकोलस भुसाल, क्षेत्र नं. ३ मा प्रख्यात बन्जाडे र क्षेत्र नं. ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने छन्। बास्कोटा र भुसाल स्वास्थ्यकर्मी, बन्जाडे अधिवक्ता र राना पूर्वभारतीय सैनिक हुन्।

प्रदेश सभातर्फ रुपन्देही ४ (ख) मा सञ्जयकुमार मिश्रा र ५ (क) मा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै एक मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानबाट रामचन्द्र केसी, कपिलवस्तु १ बाट देबेन्द्रकुमार शर्मा, कैलाली ३ बाट रमेश आचार्य र कन्चनपुर २ बाट जगदिश अवस्तीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनीहरुलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमिले चुनाव चिन्ह लौरो प्रदान गरेका थिए।

घोषणा कार्यक्रममा बोल्दै उम्मेदवारहरूले आफ्नो उम्मेदवारी नेता बन्न तथा पार्टी बनाउनको लागि नभएर देश बनाउनेको लागि भएको बताए। नेपालमा राजनीतिक दलका कपाल फुलेका नेताहरूबाट देशमा सकारात्मक परिवर्तन नहुने देखेर आफैं अगाडि बढेको बताएका छन्।

‘हामी नेता बन्न र पार्टी बनाउन आएका होइनौँ, हामी देश बनाउन आएका हौँ। नेताहरूले हामी युवालाई विदेश पठाउन खोजेकोले हामी देश बनाउन अघि बढेका हौँ,’ रूपन्देही क्षेत्र नं। २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै डा। निकोलस भुसालले भने। उनले नेपाल प्राकृति स्रोतले भरिपूर्ण रहेपनि नेताहरूले त्यसको परिचालन गर्न नसक्दा नेपाल पछि परेको बताए। नेपाललाई शान्तिको राजधानी बनाउनुपर्ने उनको भनाइ थियो।

उम्मेदवारहरूले राजनीतिक दलका नेताहरूप्रति चरम असन्तुष्टि व्यक्त गरेको थिए। विश्व २१औँ शताब्दीमा पुगे पनि नेपालको अवस्था ७औँ शताब्दीको जस्तो रहेको रूपन्देही १ बाट उम्मेदवारी घोषणा गरेका विशाल बास्कोटाले प्रतिक्रिया दिएका थिए। ‘नेताहरूले बा(आमालाई ३ हजार भत्ता दिएर युवालाई विदेशमा भाडा माज्न बाध्य बनाएकोले हामी एकजुट भएका छौँ,’ उनले भने।

त्यस्तै कैलाली क्षेत्र नं। ३ बाट लौरो चुनाव चिन्हबाट उठ्ने घोषणा गरेका रमेश आचार्यले राजनीतिक दलहरूले युवालाई बोल्न र सक्रिय हुन नदिएकोले आफ्नो २० वर्षे राजनीतिक यात्रा अन्त्य गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए। ‘२० वर्षदेखि राजनीतिमा लागेको म, माओवादी जनयुद्ध लडेको मान्छे म, संयोजनपछि नेपाली सेनामा काम गरेको मान्छे म अहिलेका राजनीतिक दलहरूले देशलाई निकास लागेर स्वतन्त्र उम्मेदवारी दिएर देश बनाउने अभियानमा जुटेको छु,’ आचार्यले भने,‘राजनीतिक दलहरूले युवालाई बोल्न दिएनन्, त्यसैले सबै युवाहरू स्वतन्त्र रूपमा एकजुट हुनुपर्छ।’

अन्य उम्मेदवारहरूले पनि सक्षम र योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने बताए।

त्यसैगरी स्वतन्त्र उम्मेदवाहरूलाई चुनाव चिन्ह लौरो हस्तान्तरण गर्न बुटवल आएका संयोजक सायमिले युवाहरूमा राजनीतिक चेतको विकास हुँदै गएको बताउँदै खुसी व्यक्त गरे। उनले चुनाव चिन्ह लौरोले नै देशको मुहार फेर्ने दाबीसमेत गरे। ‘यहाँका युवाहरूमा राजनीतिक चेत आएको देखेर खुसी लाग्यो,’ सायमिले भने,‘युवाको यो चाहनाले मंसिर ४ मा देशमा परिवर्तन आउने छ। लौरोले नै देशको मुहार फेरिने छ, त्यसैले नयाँ पुस्ताको लागि मत परिवर्तन गर्नुहोस्।’

त्यस्तै अभियानका प्रवक्ता हरि कार्कीले युवाहरूको नयाँ ऊर्जालाई एकजुट गरेर देश विकासमा लाग्ने बताए। उनले लौरोको रक्षाका लागि आफूहरूले ठूलो संघर्ष गरेको प्रतिक्रिया दिएका थिए।

‘स्थानीय तहको निर्वाचनमा हामीले जुन परिणाम प्राप्त गर्न सकिन्थ्यो त्यो सकिएन त्यसको मुख्य कारण चुनाव चिन्ह हो। हामीलाई अन्याय गरेर सात दिनअघि मात्रै चुनाव चिन्ह दियो, जसकारण हामी अलमलमा परेकोले सोचेअनुसारको नतिजा निकाल्न सकेनौँ,’ प्रवक्ता कार्कीले भने,‘स्थानीय तहको त्यही विजयको आडमा हामी यहाँ उपस्थित भएको हो, चुनाव चिन्हमा समस्या नहोस् भनेर हामीले यो अभियान सुरू गरेको हो।’ उनले स्वतन्त्रहरूको विजय प्राप्तिका लागि लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न सुझाए।

उनले स्वतन्त्रहरूको लागि मैदान तयार गरेको, हतियारको रूपमा लौरो चुनाव चिन्ह लिएको र खेलाडीको रूपमा सक्षतावान उम्मेदवार पाएको सुखी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार