गुल्मी
गुल्मीमा कैदी बन्दीहरुलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको संयोजनमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा कैदी बन्दीहरुलाई समानुपातिकतर्फ बदर मत कम गर्ने उद्देश्यले निर्वाचन कार्यालयले कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवरले बताउनु भयो ।
कारागारमा रहेका ८० जना कैदी बन्दीहरुलाई कसरी मताधिकारको सही सदुपयोग गर्ने, स्वस्तिक छाप कसरी हान्ने, मतपत्र कसरी पट्याउने भन्ने विषयमा जानकारी गराइएको छ ।
मतदाता शिक्षा कार्यक्रममा कैदी बन्दीहरुले प्रतिनिधि सभाको समानुपातिकतर्फ भए पनि आफ्नो मताधिकारको प्रयोग गर्न पाउने भएकोमा खुसी व्यक्त गरेका छन् ।
जिल्ला कारागार गुल्मीमा ८० जना कैदी बन्दीहरु रहेका छन् जसमा ७३ पुरुष र ७ महिला रहेको कारागारका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनु भएको छ ।
८० जना कैदी बन्दीहरुमध्ये स्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३६ जनाले मात्र प्रतिनिधि सभातर्फ समानुपातिकको मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन् ।