काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सोविता गौतमको अहिले घरदैलो कार्यक्रममा व्यस्त छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल सोविताका प्रतिस्पर्धी रहेका छन् । नेपाल टेलिभिजमा स्वास्थ्य सरोकार कार्यक्रम सञ्चालन गर्ने सोबिता चुनावी मैदानमा खडा भएसँगै ओनसरी र मणिराममाथि चुनौती थपिएको छ ।
प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेवार बनेकी उनलाई दुवै उम्मेदवारले प्रतिस्पर्धीको रुपमा हेरेका छन् । अधिवक्ता समेत रहेकी सोबितालाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएसँगै युवा, स्वतन्त्र र सुशासनमा विश्वास गर्ने मतदाताले उपयुक्त विकल्प पाएको उनी बताउँछिन् । गत शनिवार अभिनेत्री वर्षा सिवाकोटीले उनको पक्षमा भोट मागेकी थिइन् भने मोडल तथा टेलिभिजन होस्ट रेश्मा घिमिरे पनि उनकै साथमा उभिएकी छिन् । त्यसअघि मोडल उषा उप्रेतीले पनि सोविताको पक्षमा भोट मागेकी थिइन् ।