बुटवल
संरचनाहरु निर्माण नहुँदै बुटवलबाट प्रदेश राजधानी नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति निकालेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी सार्नृ काम नगर्न आग्रह गरेका छन् ।
पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले यो काम गर्न नमिल्ने समेत उनीहरूको ठहर छ।
कामचलाउ अवस्थामा रहेको लुम्बिनी प्रदेश सरकारले नयाँ सरकार गठन नहुँदै बुटवलबाट सबै मन्त्रालय दाङ सार्ने प्रयास गरेपछि कर्मचारी विरोधमा उत्रिएका छन् । स्थायी राजधानी देउखुरीमा पर्याप्त संरचना तयार नहुँदै मन्त्रालय सार्दा समस्या हुने बताउँदै कर्मचारीले सामूहिकरूपमा लुम्बिनी प्रदेशका मुख्य सचिवमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश सभाबाट दाङको देउखुरी उपत्यका र अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको राप्ती किनारमा लैजाने निर्णय भए पनि अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा काम गर्न नसकिने कर्मचारीको भनाइ छ ।