दाङ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज एक कार्यक्रमका विच उद्घाटन भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।
२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयबाट कामकाजसमेत सुरु भएको छ । १३ मन्त्रालयमध्ये राजधानी परिसरभित्र छ वटा मन्त्रालय, मुख्यमन्त्री निवास, प्रमुख सचिवको निवाससमेत स्थापना गरिएको छ । अबको केही हप्ताभित्र महत्त्वपूर्ण मन्त्रालय, निर्देशनालय र विभाग राजधानी क्षेत्रमा स्थापना हुने प्रदेश सरकारले जनाएको छ ।