बुटवल ।
बुटवलमा पुस ७ गतेदेखि सञ्चालन हुने १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनमा स्वदेशी उत्पादन मात्रै प्रदर्शनमा राखिने भएको छ ।
नेपाली उत्पादनलाई बजारीकरण गर्दै उपभोक्तामा स्वेदशी वस्तुको प्रयोग गर्ने बानीको विकास गराउने प्रदर्शनीले प्रमुख लक्ष्य लिएको छ ।
प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघले स्वेदशी उद्योगलाई प्रबद्र्धन गर्दै कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको हो ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रदर्शनी मूल समितिका संयोजक माधव पौडेलले बुटवलमा प्रदर्शनीको अभियानले पछिल्ला दिनहरूमा नयाँ रूप धारण गर्दै आएको बताए ।
‘आयोजनालाई परिस्कृत र परिमार्जन र आम उपभोक्ता तथा दर्शकहरूको चाहनालाई केन्द्रमा राखेर अगाडि बढाउँदैछौँ ।
स्वदेशी उत्पादनलाई बजारीकरण गर्ने हाम्रो लक्ष्य हो’, उनले भने । बुटवलमा २०४५ सालमा पहिलो प्रदर्शन लागेपछि यसले निरन्तरता पाउँदै आएको छ ।
कोरोना महामारीका कारण दुई वर्ष सञ्चालन हुन नसकेको महोत्सवमा अहिले दर्शक र कारोबार बढी हुने आयोजकले अपेक्षा लिएको छ । महोत्सवमा ७ लाख दर्शक र २५ करोडको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।
त्यस्तै, प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई ६० र विद्यार्थीलाई ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको उद्योग संघका महासचिव हरिबहादुर खत्रीले जानकारी दिए ।प्रदर्शनीमा टिकटको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी छुट्याइने भएको छ । प्रदर्शनी १३ दिने चल्नेछन ।
स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सिर्जना, गोष्ठी र अन्तरक्रिया पनि हुनेछ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटीलगायतका करिब ४५० स्टलहरू रहनेछन् ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका,हास्य कलाकार, स्थानीय कलाकारहरूको प्रस्तुति,सांगितिक कार्यक्रम,विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल,टिकटक हन्ट लगायतका प्रतियोगिताहरू रहने छन् ।