बुटवल ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले गलत कुराको आलोचना गर्न पत्रकारले डराउन नहुने बताएका छन्।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० औं स्थापना दिवस तथा २१औं साधारण सभालाई सोमबार तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री वा अन्य कसैले पनि गलत गर्दा पत्रकारले निडर भएर कलम चलाउन सक्नु पर्ने बताएका हुन्।
सत्य कुरा बाहिर ल्याउँदा गल्ती गर्ने मानिसहरू अप्ठेरोमा पर्ने हुँदा सत्य कुरा लेख्न कहिल्यै डराउन नहुने धारणा उनले राखेका हुन्।
यद्यपि कसैले बढाइचढाइ वा कसैलाई सिध्याउने हिसाबले कलम चलाउन नहुने बताए।
संचार समाजको आँखा र दृष्टि भएको हुँदा समाज गतिशील बनाउन सत्य सूचना अति जरुरी रहेको शर्माले जोड दिए।
तर आज सूचना संचारको क्षेत्रमा प्रविधिको विकासका कारण चुनौती थपिएको हुँदा पत्रकार थप जिम्मेवार बन्न आवश्यक रहेको उनले औल्याए।