बुटवल ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएको थियो । ‘गृह मन्त्रालयले डीएसपी केसीलाई निलम्बन गरेको छ’ प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले भने–‘उनीविरुद्ध लागेको आरोपबारे छानबिन भइरहेको छ ।’
‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयस्थित डिएसपीको क्वाटरमा राखिएको छ ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुनसहित पक्राउ परेका किसन बिकसँग उनले ‘घुस’ लिएको आरोप छ । किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाख सुन फिर्ता गरेबापत उनले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे ८ लाख नगद र साढे ९ लाखको चेक बरामद गरेको छ ।
केसीविरुद्ध यसअघि पनि ३ लाख घुस लिएको उजुरी परेको थियो । आईजीपी सचिवालय मातहतको उजुरी छानबिन शाखाले छानबिन गर्दा घुस रकम उनको बैंक खातामा डिपोजिट गरिएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।