दाङ ।
लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण आज हुदैं छ । गत मंसिर ४ गते संपन्न निर्वाचन बाट निर्वाचित सासंदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्मित प्रदेशसभा भवनमा शपथ खुवाउने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनीमा प्रदेशमा भने प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् ।
पहिलो पटक स्थायी राजधानीमा गर्न लागिएको कार्यक्रमको सबै तयारी पूरा भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।