कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा ग्यास सिलिण्डर बिष्फोट भएको छ । नगरको वडा नं. ९ कपिलधाममा आयोजना गरिएको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर बिष्फोट भएको हो । ग्यास बिष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय प्रहरीका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताए । ग्यास बिष्फोटबाट ज्यान गुमाउनेमा बाणगंगा ८ सिसनियाँका ६५ बर्षीय नासिर महोमद रहेका छन् ।
मृतक नासिर ग्यास मार्फत बेलून बनाएर बेच्ने व्यापारी हुन् । ग्यास मार्फत बेलून बनाएर बालबच्चालाई बेच्ने उद्धेश्यले सोमबार उनी कपिलधाम आएका थिए । दिनभर जसो बेलून बेचेका नासिरले अपराह्नपख एकाएक आफैले प्रयोग गर्ने ग्यास बिष्फोट भएपछि ज्यान गुमाएका छन् ।
‘ग्यास बिष्फोटले ठूलो जनधनको क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् ।ग्यास बिष्फोटबाट नासिर क्षतविक्षत भएका छन् । उनको कुनै पनि अंग सग्लो छैन् । उनी नजिकै थुप्रै मेला भर्न आएका सर्वसाधारण रहे पनि अरु दुई जना मात्र घाइते हुन पुगेको बताइएको छ ।
सुरुवातमा हाइड्रोजन भएको सिलिण्डर भनिए पनि त्यो नभएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जानकारहरुका अनुसार व्यापारीले उक्त ग्यासमा खरानी मिश्रण गरेर आफै बनाउने गर्थे । यो विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
मृतको शवलाई पोस्टमार्टमका लागि तौलिहवा पठाइएको छ ।