प्रीन्स मिश्रा
कपिलवस्तु , वैशाख ७ गते । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा चलेपछि आग लागीका घटना समेत बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।
बिहीबार विजयनगर गाउँपालिका – ५ सिसवामा आगलागी हुँदा २६ घर गोठमा क्षति भएको छ । बिहान ११ बजेदेखि भएको आगलागीमा १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीको ३ घण्टापछि नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल स्थानीय र शिवराज र कृष्णनगर नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा परी फुसको घर ८ , गोठ ११, फुसको भन्साघर ४ मा पूर्ण क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो । दुई पक्की घरमा समेत क्षति भएको छ । आगलागीले खाद्यान्न , लत्ता कपडा, लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागी प्रभावित घर परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा राहत स्वरूप प्रदान गर्ने विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । आगलागीमा पशु चौपाया र धनमाल नष्ट भएका छन् ।