रबिन्द्र यादव / पश्चिम नवलपरासी
२५ असार
नवलपरासीमा एक सय बीस वटा कुखुरालाई खाडलमा गाडेर नष्ट गरिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका बोइलर कुखुरालाई सशस्त्र प्रहरी बल नेपाल आउट पोष्ट गुठी परसौनीले बरामद गरी नष्ट गरेको हो ।
आइतबार बिहान ६ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नंं ६ कठहवामा मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी नायब निरीक्षक( सई) दिल बहादुर पौडेलको मोबाइल गस्ती उक्त कुखुरा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले बताए ।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । यद्यपी खुल्ला सीमानाको फाइदा उठाउदै तस्करहरुले भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने गरेका छन । यसलाई नियन्त्रण तथा रोकथाम गर्न पश्चिम नवलपरासी सशस्त्र प्रहरी लागिपरेको स्रोतले बताएको छ ।
भारतबाट अबैध रुपमा तस्करी नियन्त्रण र रोकथाम गर्न सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नं गण बेलाशपुरका गणपति धिरेन्द्रराज न्यौपानेले आफ्ना मातहतका सबै वि.ओ.पी र सुरक्षा कमान्ड पोष्टलाई कडा निर्देशन दिएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
सशस्त्र प्रहरीले कुखुरालाई बरामद गरे पनि कुखुरा ल्याउने व्यक्तिलाई भने नियन्त्रणमा लिन सकेको छैन । सशस्त्र प्रहरी २६ नं गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा कुखुरा छाडेर भागेकाले पक्राउ गर्न नसकिएको बताए ।
बरामद गरिएका कुखुरालाई नव निर्वित भवनको बि ओ पी हाता भित्र रहेको फिल्डमा खाडल खनेर नष्ट गरिएको उनले बताए । बरामद गरिएको उक्त कुखुराको मुल्य नब्बे हजार रहेको छ ।