पाल्पा ।
सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।
राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३,दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दु निर्माण गरेको स्थानमा पहिरो खसेको छ । यहाँ साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी छ ।
चाइना स्टेट कन्स्ट्रक्सनले पानी रोकिनासाथ ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको छ । ठूला ढुंगा नभएकाले वर्षा रोकिने हो भने छिट्टै राजमार्ग एकतर्फ खुल्ने प्रहरीले जनाएको छ ।केही दिनअघि खसेको पहिरोले राजमार्गमा जतिबेला पनि खस्न सक्ने गरी धराप बनाएको थियो ।
वर्षाले सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दु रिब पोर्टलको माथिल्लो भागबाट ठूलो पहिरो खसेको छ ।
राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छ ।