राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । १९ मध्ये १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई हराउनुभयो । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी हुनुभएको हो । तर गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार कोइरालाले पराजित गर्नुभयो । कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ ।