अशोक बहादुर टण्डन / अर्घाखाँची ।
सँगैका साथी विदेशतिर उड्दै गर्दा कृष्णप्रसाद भुसालले गोलभेंडा फलाउने टनेल हाले । अरबमा कमाउने पैसा गाउँमै बसेर कमाउन सकिन्छ भन्ने आत्मविश्वास थियो उनमा । त्यही विश्वास र मेहनतले उनी बुटवलबाट आफ्नो जन्म स्थान अर्घाखाँची अड्गुरीमा झरे । अहिले उनि अर्घाखाँची, अड्गुरीका ३७ वर्षीय युवा भुषाल विदेशमा पसिना बगाउने युवाका लागि प्रेरणा स्रोत बनेका छन् । गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सोच राख्ने भुसाल अहिले अर्घाखाँची जिल्लाका उत्कृष्ट कृषक १६ कृषकमा पर्छन् । ‘मेहनत गर्यो भने गाउँमै पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ भुसालले भने, ‘अहिले त सबैले विदेशको पैसा यही कमायो भन्न थालेका छन् ।’ सबै उनले बनाएको गोलभेंडाका टनेल हेर्न जान्छन् । साच्चै भन्ने हो उनलाई कृषि फापेको छ । अहिले आम्दानी राम्रो भएको उनी बताउँछन् । आफ्नो काममा श्रीमतिले पुर्ण साथ दिएको भुसाल बताउँछन् । घर खर्च कटाएर बच्चाबच्ची पढाएर बचत गर्न सफल भएको उनी बताउँछन् ।
उनले अहिले ५ रोपनी जग्गामा गोलभेंडा खेती गरिरहेका छन् । खेती विस्तार गर्दै जाने उनको योजना छ । त्यसबाहेक काउली, बन्दा र यिनका बेर्नाको व्यवसाय गरिरहेका छन् । अहिले प्याज नर्सरी राखेर बिरुवा बेचिसकेको उनी बताउँछन् । प्याजको बेर्नाबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । अहिले चैत महिनामा उत्पादन दिने गरि विभिन्न तरकारीको नर्सरी राखेको उनी बताउँछन् । अगाडी लगाएको लगाएको गोलभेंडा सकिने बेला भएको छ । टनेनमा टमाटर लगाएर बार्है महिना बेच्ने गरेको उनी बताउँछन् । टमाटर खेती गरेपछि अहिले १० बर्षको समयमा पछाडी फर्कनु नपरेको उनी बताउँछन् । अहिले बजारीकरण गर्न पनि सजिलो भएको र घरमै आएर तरकारी लैजाने गरेको उनी बताउँछन् ।
अब फागुन महिनाको लागी काउली बेच्न तयार भएको उनी बताउँछन् । अबको सिजनमा काउलीको मुल्य राम्रो आउने देखिन्छ । पक्कै राम्रो आम्दानी होला ।
भुसाल भन्छन्, यस बर्ष अहिलेसम्म फाट्टफुट्ट गरी थप २०० क्विन्टलभन्दा धेरै बेचिसकें ।’ सुरुमा किलोको ८० रुपैयाँका दरले र पछिल्लो समय ५० रुपैयाँका दरले बेचेको उनले सुनाए । ५० भन्दा तल आएर गोलभेडा बेच्न नपरेको उनी बताउँछन् । उनले प्रत्यके बिरुवाबाट १० किलो फलाउने लक्ष्य राखेको र त्यसै अनुसार प्रतिफल पाएको उनको भनाइ छ । अहिले त आफू प्राबिधिक नै जस्तो भएको लाग्छ। गर्दै जादा सिकिने रहेछ अहिले कुनै बोटमा २० केजिसम्म टमाटर फलाएको उनी बताउँछन् ।
यसबाहेक उनले काउली र बन्दा लगाएका छन् । अफसिजनको बेला काउली सय र बन्दा ५० रुपैयाँ किलो बेचेको उनले बताए । उनको अर्को कला भनेको गोभी र प्याजका बेर्ना व्यवसाय हो । बेर्ना उमार्नु गाह्रो काम पनि हो । घामपानी, सिँचाइ र माटो मिलाउन जान्नु पर्छ । वार्षिक रुपमा हजारौं रुपैयाँ बेर्नामात्र बेचेर कमाउने गरेको उनले बताए । यस सिजनको अवधिमा उनले ३५ हजार रुपैयाँको गोभीका बेर्ना बेचिसकेका छन् । यस सिजनमा प्याजको बीउ ६ हजार लगानी गरेर असी हजारसम्म आम्दानी गरेको उनी बताउँछन् । ‘यसमा लगानी भनेको मेहनतबाहेक ६ हजार रुपैयाँमात्र हो,’ भुसालले भने । अहिले प्याजको ब्याड राखेका छन् । यस साल ५ किलो प्याजको बीउ राख्दा ८० हजार रुपैयाँका बेर्ना बेचेको उनले बताए । ‘एक किलो प्याजको बीउलाई झन्डै ३ हजार ५ सय रुपैयाँ पर्छ,’ भुसाल भन्छन्, ‘एक रुपैयाँमा २ वटा बेर्ना बिक्री हुन्छन् ।’