२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

कुशल र सन्दीपको अर्धसतकमा पिएनजिलाई नेपालको बलियो लक्ष्य

पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको छ ।

पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । आठौं ओभरमा विनोद क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।

लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए ।

त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे । कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले ३२ बलमा आफ्नो नवौं अर्धशतक बनाएका थिए । उनी १५ औं ओभरमा आउट भए । नोर्मन भानुआको बलमा बाउन्ड्रीनजिक क्याच हुनुअघि उनले समान ४ चौका र ४ छक्का प्रहार गरे ।

कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टि२०आई अर्धशतक पूरा गरे । सन्दीपले १८ औं ओभरमा क्याच आउट हुनुअघि २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए । अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए ।

यस खेल जितेमा नेपाल फाइनल प्रवेश गर्नेछ । आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । फाइनल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार