शोभाखर पन्थी
अर्घाखाँची/चैत-१३
नेकपा एमालेका पोलिट व्यूरो सदस्य ठाकुर गैरेले राष्ट्रवादी शक्तिहरु एकजुट भएर अँगाडी बढ्नु पर्ने बताएका छन ।
नेकपा एमाले पाणिनि गाउँ पालिका कमिटी द्वारा आयोजित दुईदिने सैध्दान्तिक प्रशिक्षण कार्यक्रमको दुर्गा फाँटमा उद्घाटन गर्दै गैरेले राष्ट्रियताको रक्षा र गणतन्त्रको संस्थागत विकासको निम्ति संपूर्ण वाम पन्थी र अग्रगामी शक्तिहरु एकजुट भएर अँगाडी बढ्नु पर्ने बताएका हुन ।
नेपाली जनताको ठूलो त्याग र बलिदान बाट प्राप्त उपलब्धि माथी धावा बोल्ने काम भैरहेको भन्दै , एमाले नेता गैरेले पुनरउत्थानवादी र प्रतिगामी शक्तिका कुनैपनि हर्कत स्वीकार्न नसकिने बताए ।
नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज र पाल्पा बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका गैरेले वर्तमान सरकारले नमुना काम गरेर देखाउनु पर्ने भन्दै मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरणले सार्थकता पाउन नसकेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले पछिल्लो दशक अर्घाखाँचीको बिकासले ठुलो फड्को मारेको बताए ।
घिमिरेले आफुहरु निर्वाचित भएपछि शिक्षा,स्वास्थ्य, यातायात,संचार,बिद्युत,खानेपानी ,सिंचाई लगायत पुर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै अब स्वरोजगारका कामलाई प्राथमिकतामा राखेर अँगाडी बढ्ने प्रतिबद्धता जनाएका छन । नेपाल प्राकृतिक साधन र स्रोतले सम्पन्न मुलुक हुँदा हुँदै पनि बिकासको गतिमा धेरै पछाडि परेको भन्दै घिमिरेले अग्रगामी शक्तिहरुको बीचमा एकता कायम गरेर राष्ट्र निर्माणको निम्ति निर्ममताका साथ अँगाडी बढ्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य समेत रहनु भएका घिमिरेले सरकारले सुशासनको अनुभूति हुनेगरी निर्धक्कताका साथ देश र जनताको पक्षमा कामगर्नु पर्ने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले विकास ,समृद्धि,सामजिक न्याय र अग्रगामी रुपान्तरण नेकपा एमाले बाट मात्रै संभव हुने उल्लेख गरेका छन । भुसालले अहिलेको सत्ता समिकरण स्वभाविक र समय सापेक्ष भएको बताउँदै यसको निरन्तरताको निम्ति सबै पक्षले ईमान्दारी पुर्वक काम गर्नुपर्ने बताए ।
अध्यक्ष भुसालले ईमान्दार,जुझारु र कर्तव्यनिष्ठ कार्यकर्ता नेकपा एमालेको मेरुदण्ड भएको बताउँदै हरेक संकटमा पार्टीलाई बचाउने कार्यकर्ताको मनोविज्ञानलाई बुझेर नेताले काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले राजनीति पेशा व्यवसाय नभई समाज रुपान्तरणको महाअभियान भएको भन्दै त्यसको निम्ति नेता कार्यकर्तामा त्याग ,समर्पण ,बलिदान र सेवाभाव हुनुपर्ने बताएका हुन । नेकपा एमालेको एकमना सरकार नबने सम्म बिकास र समृध्दिले सार्थकता पाउन मुस्किल हुने भन्दै भुसालले आगामी निर्वाचनमा एक्लै सरकार बनाउने गरी एमाले अगाडि बढेको बताए । भुसालले पार्टी कार्यकर्ता र समर्थकको हरेक दु:ख सुखको सारथि बन्न पार्टी तत्पर रहेको भन्दै उच्च बनोवलका साथ पार्टी निर्माणको काममा जुट्न कार्यकर्तालाई आग्रह समेत गरेका थिए ।
नेकपा एमाले पाणिनि गाउँपालिका कमिटीका अध्यक्ष कमल घिमिरेको अध्यक्षता र सचिव गुनाखर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश र जिल्ला तहका नेताहरुले समेत मन्तव्य राखेका थिए । दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टीका नेताहरु ठाकुर गैरे,रामजी प्रसाद घिमिरे,पीताम्बर भुसाल,जिवनारायण कोईराला,केवी भुसाल,तोजबहादुर रायमाझी,शम्भु प्रसाद पोख्रेल,लिलबहादुर बि.क., श्रीकृष्ण भुसाल,कमल प्रसाद घिमिरे,कुसल भुसाल,विष्णु प्रसाद पोख्रेल लगायतले प्रशिक्षण दिने जनाईएको छ ।
प्रशिक्षणमा एमाले पालिका कमिटीका सदस्य,पालिका भित्रका सबै पार्टी बाट निर्वाचित जनप्रतिनिधि, वडा पदाधिकारी तथा जनसंगठन पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहेको एमाले पाणिनि गाउँपालिका कमिटीका अध्यक्ष तथा जिल्ला प्रशिक्षण विभागका उप-प्रमुख कमल घिमिरेले बताउनु भयो ।
प्रशिणमा एकसय भन्दा बढी कार्यकर्ताको उपस्थिति रहनुका साथै सबैमा सिक्ने र सिकाउने जिज्ञासा रहेको प्रशिक्षण विभागका सदस्य कुशल भुसालले बताए ।
यस अघि एमालेले अर्घाखाँचीको शीतगंगा र मालारानीमा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरसकेको छ भन्ने अन्य पालिकामा पनि निरन्तर गर्ने तयारी गरेको जनाईएको छ ।