अर्घाखाँची । कार्यसम्पादन मूल्याङ्कनमा पाणिनी गाउँपालिकाको अडगुरी स्वास्थ्य चौकी पहिलो भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको मूल्याङ्कन प्रतिवेदनमा उक्त स्वास्थ्य चौकी पहिलो स्थानमा परेको हो । स्वास्थ्य विभागका २८ सूचकका आधारमा गाउँपालिकाको मूल्याङ्कन गरिएको थियो । ५६ पूर्णांक र ४६ अंकसहित अडगुरी स्वास्थ्य चौकी पहिलो स्थानमा रहेको छ । त्यस्तै ४१ अंकसहित पोखराथोक स्वास्थ्य चौकी दोस्रो र ४० अंकसहित पटौटि स्वास्थ्य चौकी तेस्रो भएको छ ।
स्वास्थ्य शाखाले बिहीबार वार्षिक समीक्षा कार्यक्रम आयोजना गरी प्रथम, द्वितीय र तृतीय हुने स्वास्थ्य संस्थालाई नगद पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै प्रथम स्वास्थ्य संस्था अड्गुरी स्वास्थ्य चौकीका प्रमुख पुनराम भुसालले अथक परिश्रमले मात्रै सफल भएको बताउँदै यो गरिमा कायम राख्न अझै मिहिनेत गर्न सबैलाई आग्रह गर्नुभयो ।