कमला घिमिरे / अर्घाखाँची ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं. ६ (साविक ठूलापोखरा गा.वि.स. वडा नं. ८) किसान कोटफेरा स्थित श्री थानपती देवालय मन्दिरको नवनिर्मित संरचना समुद्घाटन एवं दाताहरुको सम्मान कार्यक्रम आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।
ऐतिहासिक पृष्ठभुमि सहितको छत्रमहाराज मन्दिरको भाइ मन्दिरका रुपमा चिनिने यस थानपती देवालय मन्दिरको समुद्घाटन मुक्तिनाथ मन्दिर धामका समेत प्रमुख रहनुभएका पन्चधामका पिठाधिष ब्रम्हनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी ज्यूको करकमलबाट भएको हो । उक्त कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
मुलतः माता दुर्गा भगवतीको देवता राखिने कोटका रुपमा स्थापित यस मन्दिर यस क्षेत्रका विभिन्न सहयोगी दाताहरुको आर्थिक सहयोग दान, प्रदेश सरकार र छत्रदेव गाउँपालिका समेतको आर्थिक लगानीमा निर्माण गरिएको हो । हाल सम्म उक्त मन्दिरमा मन्दिरको नवनिर्मित भवन, पौवा, शौचालय, गेट, कम्पाउण्ड वाल लगायतका भौतिक संरचना तयार गरिएका छन भने आगामी दिनमा यसको फिल्ड व्यवस्थापन लगायतका सौन्दर्यात्मक कार्य गर्दै जाने कुराको जानकारी उक्त मन्दिर पुनः निर्माणका लागि गठित आर्थिक व्यवस्थापन समितिका संयोजक टिकाराम बन्जाडेले दिनुभयो ।
कार्यक्रममा आफ्नो धार्मिक प्रवचन सहितको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि लोकानन्द स्वामीले मानव जीवनमा हामिले गर्नुपर्ने कार्यका विषयमा महत्त्वपूर्ण भनाईहरु राख्दै यस पुनित कार्यमा आफु समेत सरिक बन्न पाउँदा हर्षित बनेको बताउनु भयो, साथै विशिष्ट अतिथि छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले छत्रदेव गाउँपालिका आफैमा पनि धार्मिक हिसाबले परिचित र नामांकित गाउँपालिका भएकाले सनातन धर्मको रक्षा गर्न, आपसी भाइचारा स्थापना गर्न र धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा विभिन्न सहयोगी हातहरु सँग हातेमालो गर्दै अगाडी बढ्न गाउँपालिका तल्लिन रहेको बताउनुभेको थियो ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न संघ संस्थाहरुको समेतको उपस्थितिमा वडाका सयौं नागरिकहरु सहभागी कार्यक्रमले समुदायको आपसी एकतालाई समेत थप मजबुत बनाएको वडा अध्यक्ष कमल पौडेलले बताउनु भयो ।
छत्रदेव गाउँपालिका वडा नं. ६ का अध्यक्ष कमल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर बन्जाडेले गर्नुभएको थियो भने स्वागत आर्थिक व्यवस्थापन समितिका संयोजक टिकाराम बन्जाडेले गर्नु भएको थियो ।