कमला घिमिरे / अर्घाखाँची
अर्घाखाँचीको शितगंगा नगरपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। नगरभित्र प्लाष्टिकजन्य फूल तथा माला विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने समस्या देखिएको भन्दै नगरकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै स्थानीय कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाटले बताउनुभयो ।
अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गर्ने नगर प्रमुख छविलाल पौडेलको भनाइ छ।
नगरप्रमुख पौडेलले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लाष्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।
वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको नगरपालिकाले जनाएको छ।