अविजित पन्थी / पाणिनी न्युज डटकम
पाणिनी गाउँपालिका वडा नं. ७, अड्गुरिमा आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत भएका योजनाहरू कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई अभिमुखीकरण, योजना सम्झौता, र बैंक खाता खोल्ने प्रक्रिया सम्बन्धी एक दिवसीय विशेष कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयमै आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गुनाखर अधिकारीले गर्नुभएको थियो।
कार्यक्रममा उपभोक्ता समितिका प्रतिनिधिहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक, कानुनी, र व्यवस्थापकीय पक्षमा जानकारी दिइयो। वडा कार्यालयमै सम्पन्न सम्झौता र खाता खोल्ने प्रक्रियाले पालिकामा धाउनुपर्ने बाध्यता हटाएपछि सेवाग्राहीहरूले यस कदमलाई अत्यन्तै उपयोगी र जनमैत्री भएको बताएका छन्।
कार्यक्रमले उपभोक्ता समितिलाई योजनाहरू सफलतापूर्वक सम्पन्न गर्न प्राविधिक अभिमुखीकरण ,योजना सम्झौता प्रक्रिया वडामै सम्पन्न, जसले पालिकामा धाउनुपर्ने समय र स्रोतको बचत गरेको थियो। ग्लोबल आइएमई बैंकमार्फत वडामै खाता सञ्चालनको सुविधा प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुनाखर अधिकारीले भन्नुभयो, “योजना सम्झौता र बैंक खाता खोल्न वडामै व्यवस्था गर्नु हाम्रो स्थानीय सरकारको मुख्य दायित्व हो। यसले सेवाग्राहीहरूलाई सजिलो र सहजरूपमा सेवा लिन प्रोत्साहन गरेको छ। सबैले गुणस्तरीय र पारदर्शी रूपमा योजना सम्पन्न गर्नुपर्ने जिम्मेवारी पुरा गरिनुपर्छ ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले साना योजनाहरू उपभोक्ता समितिमार्फत गर्दा स्थानीय सहभागिता मात्र होइन, स्थानीय विकासको गति पनि द्रुत हुने बताउदै यहाँका जनताको सक्रिय सहभागिताले पाणिनीको विकासमा नयाँ अध्याय सुरु हुने बिश्वास ब्याक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कानुनी प्रक्रिया र लागत अनुमान पालना गरेमा उपभोक्ता समितिलाई भुक्तानीका क्रममा कुनै समस्या हुने छैन। योजनाको प्रत्येक चरणमा पालिकाले सहयोग गर्नेछ।” उत्कृष्ट काम गर्ने उपभोक्ता समितिले पालिकाले सम्मान गर्ने पनि प्रतिबद्धता जनाउनुभयो।
इन्जिनियर मोहराज पौडेलले योजना सम्पन्न गर्ने क्रममा प्राविधिक पक्षलाई प्राथमिकता दिनु अत्यावश्यक छ। यसले योजनाको गुणस्तर कायम राख्न मद्दत पुर्याउने बताउनुभयो।।
कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्यहरू र सेवाग्राहीहरूले यो कदमको खुलेर प्रशंसा गरेका छन । उनीहरूले भने “योजनाका लागि पालिकामा धाउनुपर्ने झन्झट हटाएर वडामै सम्झौता प्रक्रिया सुरु गर्नु स्वागतयोग्य कदम हो। यसले हाम्रो समय र खर्च दुवै बचत गरेको छ। पहिले सम्झौता गर्न गाउँपालिकासम्म जानुपर्नेमा अब वडामै सबै सुविधा पाउँदा हामीलाई निकै सजिलो भएको छ।गुणस्तरीय काम गर्ने अवसर हामीलाई दिनु भएको छ। वडाका विकासका लागि हामी इमानदारीपूर्वक काम गर्ने पाणिनी सातका उपभोक्ता समितिहरूले प्रतिबद्धता समेत ब्याक्त गर्दछौं ।”
कार्यक्रमले जनताको समय, स्रोत र श्रमको बचत गर्दै विकास कार्यमा उनीहरूको प्रत्यक्ष सहभागिता बढाएको छ। यसले योजना कार्यान्वयनलाई पारदर्शी र दिगो बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।