रुद्रमणी भुसाल ।असल अभ्यासको आदानप्रदान गर्दै अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक अर्घाखाँचीको पाणिनी गाउँपलिकाको पाणिनी तपोभुमिमा सम्पन्न भएको छ ।
अर्घाखाँची , गुल्मी , पाल्पा , प्युठान जिल्लाका सुरक्षा समितिका प्रमुख तथा पदाधिकारीहरु सहभागी रहेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जनाकारी दिनुभयो ।
चार जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध, मानव बेचविखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा र ,ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण लगायतमा समन्वय गरेर अगाडी बढ्ने निर्णय गरिएको छ ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयात्मक प्रयासको आवश्यकता औंल्याएका थिए। बैठकले चार जिल्लाबीचको सहकार्यलाई सुदृढ गर्दै सुरक्षाको क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ । बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदानप्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी जर्नादन शर्माले बताउनु भयो ।
अर्घाखाँचीको जिल्ला प्रशासनको आयोजनामा पर्यटकिय क्षेत्रको पनि प्रचार गर्ने उदेश्यले ब्याकरणको रचना गरिएको पाणिनी तपोभुमिमा चार जिल्लाका सुरक्षा प्रमुखको बैठक राखिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । बैठकमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागिता रहेको अर्घाखाँचीका प्रहरी प्रमुख चक्र बहादुर मल्लले बताउनु भयो ।

