अर्घाखाँची । पाणिनी गाउँपालिका ३ दुर्गाफाँट अर्घाखाँचीमा ४ हजार लिटर क्षमताको अत्याधुनिक चिलिङ सेन्टरको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीले शनिबार एक विशेष समारोहबीच उक्त केन्द्रको उद्घाटन गरेका हुन्।
पाणिनी दुग्ध सहकारी लिमिटेडको भवनमा स्थापना गरिएको यो चिलिङ सेन्टर दूध बजारीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो। परियोजनामा लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत, पाणिनी गाउँपालिकाको १५ प्रतिशत र स्थानीय कृषकहरूको १० प्रतिशत लगानी सहभागिता रहेको छ। चिलिङ सेन्टरबाट प्रारम्भिक रूपमा दैनिक २ हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य राखिएको छ।
उक्त चिलिङ सेन्टरमा सङ्कलित दूध ग्लोबल डेरीले खपत गर्ने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पन्थीले प्रदेश सरकार कृषकका समस्या समाधानमा प्रतिबद्ध रहेको बताए। उनले पाणिनीलाई कृषि र पशुपालनको अपार सम्भावना बोकेको क्षेत्रको रूपमा चित्रण गर्दै दुबै क्षेत्रमा सहकार्य र लगानी आवश्यक रहेको धारणा राखे। उनले आगामी बजेट पनि कृषि मैत्री रहने बताए । उनले कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढेको र यसले जनताको स्वास्थ्यमा प्रत्यक्ष गम्भिर असर पारेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको प्रयोगमा कमी ल्याउने काममा प्रदेश सरकार लागि परेको समेत बताए । उनले माटो बिरामी भएको भन्दै त्यसको उपचार आवश्यक रहेको बताए । उनले भने “अहिले माटो बिरामी भएको छ, अब माटो बिरामी भयो भन्दा यहाँहरूलाई हाँसो लाग्न सक्छ, माटो बिरामी भएपछि कसरी उत्पादन दिनसक्छ ? त्यसको लागि पनि गाईबस्तुको गोबरलाई व्यवस्थित गर्ने, रासायनिक मलको प्रयोग कम गर्नुपर्यो ।”
प्रदेश सांसद रामजी प्रसाद घिमिरेले अब कृषि क्रान्तिको आवश्यकता रहेको उल्लेख गर्दै पाणिनीले कृषिमा देखाएको सम्भावनालाई तीनै तहका सरकार मिलेर साथ दिनुपर्ने बताए। उनले स्थायी आर्थिक परिवर्तनका लागि कृषि र पशुपालनलाई प्राथमिकता दिन जरुरी रहेको तर्क प्रस्तुत गरे। हाम्रा कृषकहरूको उत्पादनलाई सधै भारतको उत्पादनले प्रतिस्थापन गर्ने गरेको भन्दै यसको समाधानका लागि सरकारले भारतीय कृषि उत्पादनको आयातमा कडाइ गर्न सक्नुपर्ने बताए । उनले भने “आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न उनीहरूको (भारतको) उत्पादनलाई ट्याक्स लगाउनै पर्छ, अलि बढि, भन्सार ट्याक्स बढाउनै पर्छ । यो नगरे हाम्रो उत्पादन संरक्षीत हुदैन ।”
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले चिलिङ सेण्टरको स्थापनाले दूध उत्पादन गर्ने कृषकहरूमा नयाँ आशा र हौसला थपेको बताएका छन्। उनले उक्त चिलिङ सेण्टरलाई दीर्घकालीन बनाउन आवश्यक रहेको धारणा राखे। कोइरालाले संकलित दूधको उचित बजार व्यवस्थापन नभए कृषकले लाभ लिन नसक्ने स्थिति आउने भन्दै यसको प्रभावकारी बजारीकरणका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए।
“दुधको सही मूल्य पाउन, बजारमा पहुँच बनाउन र उत्पादक कृषकलाई प्रत्यक्ष लाभ पुग्न चिलिङ सेण्टरको दीगो व्यवस्थापन अपरिहार्य छ”, उनले भने, “यसका लागि म आफैँ समन्वय गर्न प्रतिबद्ध छु।”
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पाणिनी गाउँपालिकाले कृषकसँग सहकार्य गर्दै प्राविधिक सेवा, खोप अभियान, नश्ल सुधार तथा दूध उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको जानकारी दिए। उनले कृषकहरूलाई पशुपालन तथा दूध उत्पादनमा अझ सक्रिय हुन आह्वान गरे।
कार्यक्रममा पालिकाका संस्थापक अध्यक्ष अच्युत गौतमले आफ्नो कार्यकालमा कृषक र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको स्मरण गरे। उनले चिलिङ सेन्टरको सञ्चालनले स्थानीय दूधको बजार व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। सामाजिक सञ्जालमा देखिएका केही निराशावादी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै गौतमले देशमै अवसर रहेको र मेहनतले सफलता सम्भव हुने बताए। साथै, उनले देशको समृद्धिका लागि अब नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा पनि राखे।
अन्य वक्ताहरूले चिलिङ सेन्टरको सञ्चालनले दूध संकलन, प्रशोधन, भण्डारण र बजारीकरणमा सहजता ल्याउने र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे। कृषकहरूलाई उत्पादन वृद्धिमा लाग्न प्रेरणा दिनुपर्नेमा उनीहरूले जोड दिए। यसै अवसरमा गाउँपासिलकाले आफ्नो माग पत्र समेत मन्त्री पन्थिलाई बुझाएको छ । माग सम्बोधनमा आशावादि रहेको समेत पालिकाले जनाएको छ ।
कार्यक्रम पाणिनि दुग्ध सरकारिका अध्यक्ष भुवन घिमिरेको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यता, राम प्रसाद गैरेको स्वागत मन्तब्य र संस्थाका सचिव हरि प्रसाद पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।
पाणिनी गाउँपालिकामा वार्षिक झन्डै १२ लाख लिटर दूध उत्पादन हुने अनुमान गरिएको छ। चिलिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय किसानलाई आफ्ना उत्पादन सुरक्षित रुपमा भण्डारण गरी राम्रो मूल्यमा बजारमा पु¥याउने अवसर प्राप्त हुने आशा गरिएको छ। यसले स्थानीय स्तरमै दुग्ध उद्योग विस्तार हुने, किसानको आय वृद्धिमा टेवा पुग्ने र समग्रमा गाउँको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।