काठमाण्डौ ।
प्रतिनिधिसभाको सभामुख पदका लागि आज चुनाव हुँदैछ । सभामुख पदका लागि सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ ।
सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनु भएको छ । सभामुखको चुनावका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सत्तागठबन्धनमा छन् । यीमध्ये भागबन्डामा असन्तुष्ट जसपा सरकारमा गएको छैन । रोजेको मन्त्रालय नपाउँदा जनमत पार्टी पनि असन्तुष्ट छ ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षी बेन्चमै बसेको छ । तीन सिट भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखमा कसलाई समर्थन गर्ने भनेर आज बिहान निर्णय गर्ने बताउनु भएको छ ।
सरकारलाई विश्वासको मत दिएको, तर सहभागी नभएको लोसपाले पनि आज नै निर्णय गर्ने जनाएको छ ।
सरकारलाई विश्वासको मत नदिएका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपामा प्रेम सुवालले बिहान नै निर्णय गर्ने बताएका छन् ।
संसदमा तीनजना स्वतन्त्र सांसद छन् । सभाध्यक्षको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मत हाल्नु हुने छैन ।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

