हिमालको काखमा बसेर तपस्याको उज्यालो फैलाउने महर्षि पाणिनिको नामले चिनिएको एउटा पवित्र भूमि हो—अर्घाखाँचीको पाणिनि गाउँपालिका । यो ठाउँ केवल भौगोलिक क्षेत्र मात्र होइन, यो त एउटा जीवन्त कथा हो, जहाँ संस्कृत भाषाको अमर ज्योति बलिरहन्छ ।
पाणिनि, जसले अष्टाध्यायीमार्फत् विश्वलाई भाषाको वैज्ञानिक आधार दिए, उनको तप र साधनाले यो भूमिलाई पवित्र बनाएको छ ।
ई.पू. बाह्रौँ शताब्दीतिर प्रयागराजको तीर्थाटनपछि पाणिनि यहाँको पणेना भन्ने ठाउँमा पुगे र घोर तपस्यामा लीन भए तर, केही पाश्चात्य र आधुनिक विद्वानहरू उनको समय ई.पू. ५०० वर्ष आसपास ठान्छन् ।
स्कन्दपुराणले भन्छ, “विद्या प्राप्तिका लागि भगवान् शङ्करको उपासना गर्नुपर्दछ” भन्ने शास्त्रीय वचनलाई आत्मसात् गर्दै उनले गोपर्वतमा महेश्वरको तपस्या गरे र वैयाकरणहरूमा सर्वोच्च स्थान हासिल गरे । स्कन्दपुराणको अरुणाचल माहात्म्य, उत्तरार्धमा
उल्लेख छ :
गौपर्वतमिति स्थानं शम्भोः प्रख्यायितं पुरा ।
तत्र पाणिनिना लेभे वैयाकरणिकाग्रता ।।
पाणिनिको जन्म पाकिस्तानको शालातुर (हालको लाहोर) मा भएको मानिन्छ । उनका पिताको नाम पाणि वा पाणिन् र माताको नाम दाक्षी थियो ।
“पाणिन्” शब्दमा अपत्य अर्थमा “इञ्” प्रत्यय लागेर “पाणिनि” शब्द बनेको हो । यद्यपि, उनका पिताको नामको मौलिक रूपमा विद्वानहरूबीच मतभेद छ । उनको गुरु आचार्य वर्ष थिए र गुरुकुल पाटलिपुत्र (हालको पटना) मा थियो ।
विक्रम् संवत्को ८०० वर्षअघि भारतको प्रमुख विद्याकेन्द्र तक्षशिलामा पनि उनले अध्ययन गरेका थिए । केही विद्वानहरूले उनको जन्मस्थान कौशाम्बी वा प्रयाग भएको अनुमान गरेका छन् ।
प्राचीन ग्रन्थहरूमा उनको नाम पाणिनि, पाणिन्, दाक्षीपुत्र, शालङ्की, शालातुरीय र आहिक जस्ता विभिन्न रूपमा पाइन्छ ।
उनका भाइको नाम पिङ्गल र शिष्यको नाम कौत्स थियो । धेरैजसो पाश्चात्य र आधुनिक भारतीय विद्वानहरूले उनको समय ई.पू. आठौँ शताब्दी आसपास मानेका छन् ।
पाणिनिको प्रारम्भिक जीवन निकै सङ्घर्षमय थियो । अध्ययनको सुरुवातमा उनी जड र मन्दबुद्धिका थिए ।
गुरुकुलमा मन्द बुद्धिका कारण गुरुलाई उनलाई बुझाउन कठिनाइ हुन्थ्यो । पाणिनि र कात्यायनले सँगै शिक्षा लिएका थिए तर कात्यायन तीक्ष्ण बुद्धि र कुटिल स्वभावका थिए ।
स्वाभाविक रूपमा गुरुको माया र सद्भाव मिहिनेती र अनुशासित शिष्यप्रति हुन्छ र त्यसैले कात्यायन गुरुका प्रिय थिए ।
पाणिनिले गुरुबाट गाली र मित्र कात्यायनबाट तिरस्कार सहनुपरेको थियो । यसले उनलाई विक्षिप्त बनायो र ज्ञान प्राप्तिका लागि उचित स्थानमा तपस्या गर्ने सङ्कल्प लिएर उनी त्यहाँबाट निस्के ।
श्रीमद्भागवत महापुराणको “विद्याकामस्तु गिरीशं दाम्पत्यर्थमुमां सतीम्” भन्ने वचनलाई आत्मसात् गर्दै उनी प्रयागराज तीर्थ हुँदै अर्घाखाँचीको पणेना पुगे । त्यहाँ पहाडको टुप्पाबाट निस्केको जल पिएर उनले शिवको आराधना गरे ।
सुरुमा सात दिनसम्म सागपात खाएर, त्यसपछि जल र अन्तमा वायु सेवन गरी तपस्या गरेको भविष्यपुराणमा उल्लेख छ । २८ औँ दिनमा महादेव प्रसन्न भए । त्रिशूल र विश्वको सङ्गीत क्षेत्रको पुरानो बाजा डमरु लिएर ताण्डव नृत्यमा प्रकट भई डमरुको तालमा चतुर्दश माहेश्वरसूत्र प्रदान गरे ।
शासनकालमा जुम्लाबाट वि.सं. १६६९ मा खाँची आएका राजा रामसिंह शाह वर्माले खिदिम पोखराथोकका सिद्ध योगी तथा ज्योतिष शास्त्रका विशिष्ट विद्वान् श्रीधर गौतमलगायतको उच्च पहल र उपस्थितिमा वि.सं. १६७० सालको महाशिवरात्रिको अवसरमा सिद्धाश्रम दहमा सिद्धेश्वर महादेवको मन्दिर निर्माण गरी पूजा–अर्चनाको व्यवस्था मिलाएका थिए ।
यसैगरी, बहुप्रतिभाशाली शिल्पशास्त्री पं. नारायण गौतम (वि.सं. १९८१–२०५१) ले प्रसन्न मुद्रामा डमरु बजाइरहेका सिद्धेश्वर महादेव र तपस्यारत महर्षि पाणिनिका मूर्तिहरू कुदाएर तिनको स्वरूपलाई विश्वसामु स्मरण गराउँदै विभूतिको स्मृति जीवन्त राखेका थिए । पछि, तपोभूमिका अन्वेषक शालिग्राम पोख्रेल (वि.सं. १९७५–२०५७) र बुद्धिजीवी तथा समाजसेवी गिरिराज पोख्रेल (वि.सं. १९७७–२०३०) को अग्रसरतामा वि.सं. २०२० मा सेतो संगमरमरबाट निर्मित साढे सात मन तौलको तपस्यारत महर्षि पाणिनिको भव्य मूर्ति स्थापना गराइएको छ ।
वि.सं. २०१८ सालको वसन्त पञ्चमीको दिनदेखि पं. नारायण गौतमले सिद्धेश्वर आश्रम परिसरमा पाणिनि व्याकरण विद्यालय (गुरुकुल) सञ्चालन गर्नुभयो ।
यहाँ वेद र व्याकरणको पढाइ हुने गर्दथ्यो। तर, विविध कारणले वि.सं. २०१९ पुष महिनादेखि २०२० वैशाखसम्म सो विद्यालयको पठनपाठन अवरुद्ध हुन गयो । पछि, वि.सं. २०२० जेठ महिनादेखि २०२२ भाद्र मसान्तसम्म मुष्ठी दान संकलनको भरमा यो सञ्चालनमा रह्यो ।
वि.सं. १९८१ सालदेखि हरिहर गौतमको पहलमा पोखराथोकमा सञ्चालित हरिहर संस्कृत पाठशालालाई सरकारी स्वीकृति लिएर सञ्चालनमा ल्याइएपछि संस्कृत व्याकरणलाई पुनर्जागृत गर्ने उद्देश्यले पाणिनि तपोभूमिमा सञ्चालित पाणिनि व्याकरण विद्यालय पूर्ण रूपमा बन्द भयो ।
यस क्षेत्रमा धार्मिक र आध्यात्मिक जागरण पुनः ल्याउन स्वामी कृष्णानन्द परमहंसले स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको सक्रियतामा १८ पुराण र उपपुराणहरू गरी २७ पुराणहरू लगाएर यहाँको याज्ञिक परम्परालाई पुनरुत्थान गर्नुभयो ।
ज्ञान र साधनाको अद्भूत नमुनाको रूपमा रहेको यो क्षेत्रको गर्भिलो इतिहासलाई जोगाइराख्न पाणिनि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी विभिन्न मठमन्दिर, ज्योतिर्लिङ्ग, बाटोघाटो, सभाहललगायतका भौतिक संरचनाहरू निर्माण गर्नुका साथै पाणिनि संस्कृत सम्मेलनमार्फत् भक्ति र ज्ञानका माध्यमबाट नेपालका सयौँ पर्यटकीय स्थलहरूमध्ये आफ्नो गौरवमय इतिहासलाई विश्वकै नमूनाको रूपमा स्थापित गर्न प्रयास गरिरहेको छ ।
महर्षि पाणिनिभन्दा ३०० वर्षपछि यसै प्रदेशमा जन्मेका सिद्धार्थ गौतमबुद्धले यहाँबाट करिब ६५ किलोमिटरको दूरीमा दक्षिणतर्फ रहेको भूमिलाई आफ्नो साधनाकेन्द्र बनाएका थिए ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्व बोकेको यस पवित्र धार्मिक तीर्थस्थलमा आएका पर्यटकहरूलाई यस पाणिनि क्षेत्रमा ल्याउन सक्ने सम्मेलन गर्न सकेमा महर्षि पाणिनिका अक्षर समाम्नाय र वाक्समाम्नायद्वारा पुनर्जन्म भएको आभास हुने छ ।
महर्षि पाणिनिको पवित्र तपोभूमि र उनको अष्टाध्यायीले संस्कृत भाषा तथा साहित्यलाई विश्वभरि अजरअमर बनाएको छ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाको रूपमा परिचित यो क्षेत्र केवल एक भूभाग मात्र नभई साधना, विद्या र प्रकृतिको सुन्दर संयोजन हो ।
पाणिनिको कठोर तपले पणेनालाई आध्यात्मिक तीर्थस्थलको पहिचान दिएको छ भने उनको व्याकरणिक कृति अष्टाध्यायीले संस्कृतलाई व्यवस्थित र वैज्ञानिक रूपमा स्थापित गरेको छ । यो ग्रन्थको संरचनागत सुगठन र गहिराइले विश्वका अन्य व्याकरणहरूलाई पछाडि छोडिदियो ।
सिद्धेश्वर महादेव मन्दिर, पाणिनि व्याकरण गुरुकुल र यहाँका धार्मिक स्थलहरूले यो क्षेत्रको ऐतिहासिक र आध्यात्मिक मूल्यलाई उजागर गर्छन् ।
खाँचीका शासकहरू, पं. नारायण गौतम, शालिग्राम पोख्रेल, गिरिराज पोख्रेल र स्वामी कृष्णानन्द परमहंसजस्ता महान् व्यक्तिहरूको प्रयासले यो भूमिको गरिमा थप उँचो भएको छ ।
पाणिनि गाउँपालिकाले मन्दिरहरू, मार्गहरू र संस्कृत सम्मेलनद्वारा यो ठाउँलाई विश्वस्तरीय धार्मिक गन्तव्य बनाउन कदम चालिरहेको छ ।
महर्षि पाणिनिभन्दा ३०० वर्षपछि यसै प्रदेशमा जन्मेका सिद्धार्थ गौतमबुद्धले यहाँबाट करिब ६५ किलोमिटर दक्षिणतर्फ रहेको भूमिलाई आफ्नो साधनाकेन्द्र बनाएका थिए।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्व बोकेको यो पवित्र धार्मिक तीर्थस्थलमा आएका पर्यटकहरूलाई पाणिनि क्षेत्रमा ल्याउन सम्मेलन गर्न सके महर्षि पाणिनिका अक्षर समाम्नाय र वाक्समाम्नायले पुनर्जन्मको आभास दिलाउनेछ ।
पाणिनिको साधना, ज्ञान र समर्पणले नेपालको समृद्ध इतिहासलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने क्षमता राख्छ । यो तपोभूमि साँचो अर्थमा संस्कृतको अनन्त प्रकाश हो, जसले अध्यात्म र शिक्षाको दीप प्रज्वलित गरिरहनेछ ।
लेखक नेपाल संस्कृत विश्वविद्यालयका उपप्रधाध्यापक हुन्