बुटवल , ३० माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले विघटित प्रतिनिधि सभालाई सञ्चालन गर्न सकिने बताएका छन् ।
२०५९ सालमा राजा ज्ञानेन्द्र शाहले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि सुचारु गर्न सकिने बताए । शुक्रबार बुटवलमा पत्रकारहरुसँग बोल्दै गुरुङले सर्वोच्च अदालतले विघटनलाई बदर गरे आफै सुचारु हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने बताएका हुन ।
सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनबिद्रोहमा परिणत हुनसक्ने गुरुङले औंल्याएका छन् ।‘प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधि सभा विघटन हुन सक्दैन भन्दै ‘यो कदमको विरोधमा सबैजसो दल, नागरिक, समाज र मिडिया उभिएका उनले बताएका छन् । त्यसैले सर्वोच्चले संविधान अनुसार पुनर्स्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ ।’
प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरीत भएकाले चुनाव नहुने पनि उनले ठोकुवा गरे ।