फाइल फोटो
काठमाडौं । सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुने भएका छन् ।
राष्ट्रिय सभागृहमा शुक्रबार अर्थात आज दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् । सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् । सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने बताइएको छ ।
सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।
प्रेस नोटमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने बुँदाहरु उल्लेख भए पनि विप्लव समूहसँग भएका हतियारको व्यवस्थापनको विषय उल्लेख छैन । राष्ट्रिय सभागृहको समारोहमा सरकार र विप्लव समूहले हतियार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी दिने अनुमान गरिएको छ ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै विप्लवले छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि भुमिगत रुपमै सुरु गरेका थिए । हत्या, हिंसालाई अंगालेको भन्दै ओली सरकारले नै २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।