काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बालुवाटारमा शनिबार बसेको बैठकले चार जना माधव पक्षिय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एमाले नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बदनाम गराउन गुटगत भेला गरेको आरोप ओली पक्षले लगाएको छ ।
यसैविच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन तयार रहेको बताएका छन् । तर विधान विपरित भएका सबै निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने बताएका हुन् ।
शनिबार काठमाडौंमा नेपाल समूहको युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग सँगै जाने पक्षमा रहेको बताए । केपी ओलीसँग आफ्नो ४८/ ४९ वर्ष लामो माया–पिरती रहेको भन्दै उनले यति समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ भन्दै प्रश्न गरेका छन् ।
आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेको भन्दै नेता नेपालले अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ भन्ने नै हो । उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’
तर अध्यक्ष ओली २८ फागुनमा गरेको ‘अवैधानिक’ निर्णय सच्याउन तयार नभएको पनि उनले बताएका छन् । शनिबार मात्र अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीको १२औं बैठक बोलाएको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘एमालेको अन्तिम बैठक ९ नम्बर हो । दुईवटा बैठक कहाँ गयो अत्तोपत्तो छैन । तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जाँदैनौ । हामी स्वाभिमानी मान्छे हौं ।’यद्यपि २३ फागुन यता भएका निर्णय सच्याए सँगसँगै जान तयार रहेको समेत उनले बताएका छन् ।