काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न बिहीवार संसदमा प्रस्ताव पेस हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
हिजो मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो । नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।