रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका १० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको हो ।
थप भएको म्यादअगावै २०७८ असारमै यो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । बुटवलदेखि पूर्व पश्चिम राजमार्गसँगै जोडिएको एक हजार सिट क्षमता भएको सभाहल सहितको सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ।