काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।
कम्युनिस्टहरूबीच मोर्चाबन्दी गरेर अघि नबढे अबका तीन चार वर्षभित्रै मुलुकमा राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिस्टहरूले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिएका छन ।
आइतबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा उनले अहिले देखापरेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरूभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराए ।
मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने उनले दोहोर्याए । तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायत नेताहरूले दुुनियाँसामु नेपालको बेइज्जत गरेको उनको भनाइ छ ।
उनले मञ्चमै रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रमभंग गरेर भए पनि कम्युनिस्टहरूबीच एकता गर्न ढिलाइ नगर्न आग्रह गरे ।कमरेड प्रचण्ड, पटक–पटक तपाईंले भन्नुभएको छ– क्रमभंगता । अब यो क्रमभंगता फेरि जरुरी भयो मुलुकमा चाहिँ । ठूलो राजनीतिक उथलपुथल देख्छु, मुलुकमा । त्यसलाई कमजोर नआँक्न आग्रह गर्दछु । यो नीतिहीनता, विचारहीनता, मनपरी तन्त्र कम्तीमा योचाहिँ लैजान्छ र त्यो राम्रै हुन्छ ।”
नेता भुसालले संसद् विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरू नमिल्ने हो भने झन् गहिरिएर जाने समेत बताए ।