आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाइँदै छ ।
२०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् ।
ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष, भोगाइ र आुभवहरूबाट आर्जन गरेका ज्ञान र सीपबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्छन् । दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको मर्यादित जीवन एवम् सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घसंस्था एवम् तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।