नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज हुने भएको छ । शपथसँगै आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी भएको छ ।
जस अनुसार पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।
एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिनुभएको थियो ।
यसैविच नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेको चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।