काठमाण्डौ – नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आज सोमवार शपथ ग्रहणपश्च्यात पदभार ग्रहण गर्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति शुन्य रहेको देखिन्छ ।
लामिछानेले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिनुभयो । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उहाँले सुनाउनुभयो ।