काठमाडौं ।
संसदको सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।
कांग्रेसले माओवादीसँग सत्ता सहकार्यबारे सहमति नजुट्दा नाटकीय रुपमा सत्ता नै गुमाउने अवस्था आएको थियो ।नेतृत्वको सुझबुझपूर्ण निर्णय हुन नसक्दा पार्टीले सत्ता गुमाएको भन्दै तीव्र असन्तुष्टि भइरहेको बेला बैठक बोलाइएको हो ।बैठकमा यस विषयलाई जोडतोडका साथ उठाउने असन्तुष्ट पक्षको तयारी छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले पुस २२ गते दिउँसो १ बजे सानेपामा बैठक बस्ने तय भएको जानकारी दिँदै उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको बताए ।
उनका अनुसार बैठकमा प्रस्तुत हुने ३ वटा एजेण्डा तय भएका छन् । जसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र विविध रहेका छन् ।