बुटवल ।
नेकपा माओवादी केन्द्रले अन्तिम समयमा मुख्यमन्त्री आधा-आधा कार्यकाल हुनुपर्ने माग राखेपछि लुम्बिनीको मंगलबार हुने भनिएको दाबी पेस गर्ने कार्यक्रम स्थगित भएको छ । यसअघि केन्द्रीय शीर्ष तहमा ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार सोमबार सत्तापक्षीय दलहरूको दाङको देउखुरीमा बसेको बैठकले मंगलबार दाबी पेस गर्ने निर्णय गरेको थियो ।
सोहि आधारमा दलहरूले मंगलबार ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले बहुमत सांसदहरुसहित आउने जानकारी दिएका थिए । एमाले सांसद भूमिश्वर ढकालले भने नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य काठमाडौंदेखि आउन सम्भव नभएपछि दाबी पेस गर्ने कार्यक्रम बुधवारका लागि सारिएको बताए । जनमत पार्टीका एक जना सदस्य पनि काठमाडौंमै रहेको उनको दाबी छ ।
मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा उम्मेदवार बनेका माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महराले असन्तुष्टि जनाएर सोमबार नै काठमाडौं गएपछि मंगलबारको नियुक्ति प्रक्रिया रोकिएको हो । सभामुख लिएर मुख्यमन्त्री ५ वर्षकै लागि एमालेलाई दिएपछि माओवादी संसदीय दलका नेता महरा नेतृत्व आलोपालो गराउन सोमबार नै काठमाडौं पुगेका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने गरी उनी काठमाडौं पुगेको माओवादी स्रोतले बताएको छन् ।
स्थायी कमिटी सदस्य महरा लामो समय दाहालको सचिवालयमा बसेर काम गरेका थिए । दाहालकै सल्लाहमा उनी मुख्यमन्त्रीको दाबीसहित रोल्पाबाट चुनाव लडेका थिए । तर, भागबन्डामा मुख्यमन्त्री एमालेलाई परेपछि उनी असन्तुष्ट बनेका हुन् ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए ।