काठमाडौँ ।
तत्काल पाँच लाख विदेशी कामदार लिने निर्णय गरेको मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल
नेपाली कामदारको अवस्था बुझ्न आउने भएका छन् ।
इजमाइल फेब्रुअरी पहिलो साता नेपाल आइपुग्ने भएका हुन् ।
दुई देशबीचको श्रम सम्झौतापछि मलेसियाबाट उच्च अधिकारीको औपचारिक नेपाल भ्रमण भएको थिएन ।
मलेसियाले उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रका लागि स्रोत देशबाट कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन’
योजना ल्याएको छ । मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवालाई ‘संवेदनशील’ क्षेत्रका रूपमा लिएको छ ।
‘तुरुन्तै ५ लाख कामदार भर्ना गर्ने नीति ल्याए पनि नेपालबाट कति लैजाने भन्ने कोटा यकिन गरेको छैन,’ मलेसियाका गृह र मानव संसाधन मन्त्रीसँग शुक्रबार छुट्टाछुट्टै कूटनीतिक भेट गरेका नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले भने, ‘अहिले देखिएको कामदारको अभाव पूर्ति गर्ने नेपाल प्रमुख स्रोत देशभित्र पर्छ ।’
मलेसियाले नेपालसहित १५ वटा देशबाट कामदार लैजाने गर्छ । तीमध्ये नेपालसँग मात्रै शून्य लागतमा कामदार लैजाने श्रम सम्झौता भएको छ ।
स्रोत मुलुकमध्ये भियतनाम र इन्डोनेसियाबाट पछिल्लो समय कामदार आपूर्ति घटेको छ ।
स्वदेशमै रोजगारीका अवसर बढ्दै गएपछि भियतनाम र इन्डोनेसियाका नागरिक मलेसियामा जाने क्रम घटेको हो ।
तत्काल ५ लाख कामदार लिने मलेसियाको नीतिबाट नेपाली कामदारले उल्लेख्य संख्यामा अवसर पाउने सम्भावना छ ।
नेपाल भ्रमणका क्रममा मलेसियाका गृहमन्त्रीले विदेशी कामदारको हित र सुरक्षाका लागि पछिल्लो पटक लिएको नीतिबारे औपचारिक रूपमा जानकारी गराउने पौडेलको भनाइ छ ।
मलेसियाले गत सेप्टेम्बर १ देखि नयाँ श्रम कानुन कार्यान्वयनमा ल्याएको छ ।