२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिमा दुई पूर्व सभामुखको प्रतिस्पर्धा

काठमाण्डाै
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावमा लागि आज नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।

पौडेल र नेम्वाङ दुवै जना पूर्व सभामुख हुनुहुन्छ । पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८ राजनीतिक दलका नेताहरु सहभागी हुनुभएको थियो । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान तथा समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहनुभएको छ । कांग्रेसको बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

त्यस्तै एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो । नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार